काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देशलाई वर्तमान राजनीतिक तथा आर्थिक संकटबाट मुक्त गर्न पार्टी बलियो हुनुपर्ने बताएका छन् ।
राप्रपा काठमाण्डु महानगरपालिका नगर समितिको अधिवेशनलाई शनिबार काठमाण्डुमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आगामी महाधिवेशनलाई पार्टी र देशकै राजनीतिक भविष्यका लागि एक कोशेढुंगाका रूपमा चित्रण गरे ।
पार्टीको हालै सम्पन्न केन्द्रिय कार्यसमितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेसँगै सम्पूर्ण पार्टी पंक्ति तयारीमा केन्द्रित भएको उनले जानकारी दिए ।
विगतका ठूला दलहरूप्रति जनताको आक्रोश र नयाँ शक्तिप्रतिको आशाबिच वर्तमान राजनीतिक समीकरण निर्माण भए पनि छोटो समयमै मुलुकमा चरम निराशा छाएको उनको तर्क छ ।
दैनिक ज्याला–मजदुरी गर्ने श्रमिकदेखि निजी क्षेत्रसम्म अहिले असुरक्षित र आतंकित महसूस गरिरहेको उनले दाबी गरेका छन् । उनले भने, ‘अहिले राप्रपाका सम्पूर्ण नेता तथा कार्यकर्ताको मुख्य लक्ष्य मंसिरमा हुने महाधिवेशन हो । यो महाधिवेशन राप्रपाका लागि मात्र नभई समग्र नेपाली राजनीतिको दिशा परिवर्तन गर्ने माध्यम बन्नेछ । देशमा महंगीले सीमा नाघेको छ र बजारमा कृत्रिम अभाव व्याप्त छ, तर यसबारे बोल्ने कोही छैन । मुलुक भूराजनीतिको गम्भीर चक्रब्युहमा फसेको छ । यस्तो अवस्थामा गरिब, सुकुम्बासी र आम सर्वसाधारणका लागि उभिने जिम्मेवारी अब राप्रपाको काँधमा आएको छ ।’
देशलाई विद्यमान संकटबाट निकाल्न राप्रपा नयाँ सोच र दृष्टिकोणका साथ जनताको माझमा जानुको विकल्प नरहेको उनले बताएका छन् ।




प्रतिक्रिया