प्रधानसेनापति क्षत्रीलाई ‘हल अफ फेम’ सम्मान


काठमाडौं– नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीमा अधिकृत क्याडेट आधार तालिम पुरा गरी नेपाली सेनाको सर्वोच्च पदमा नियुक्त भएका प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई एकेडेमी हल अफ फेम सम्मान प्रदान गरिएको छ।

सेनापति क्षत्रीलाई अधिष्ठापन समारोहमा प्रतिष्ठानका शिक्षाधिकृत सहायक श्री सीताराम खड्काले उक्त सम्मानबाट अभिनन्दन गरेका हुन्।

विभिन्न देशहरुले आ(आफ्नो तालिम केन्द्र, प्रतिष्ठान तथा कलेजहरुबाट तालिम प्राप्त गरेका स्वदेशी तथा विदेशी शिक्षार्थीहरु मध्ये उच्च पद हासिल गर्न सफल भएका व्यक्तिहरुको तस्वीरलाई हलमा राखी सम्मान प्रकट गर्ने प्रचलन अनुरुप नेपाली सैनिक प्रतिष्ठानमा पहिलो पटक हल अफ फेम समारोह आयोजना गरिएको नेपाली सेनाले जनाएको छ।

यसअघि, प्रधानसेनापति क्षत्रीलाई अमेरिकी सेनाको युएस आर्मी कमान्ड एन्ड जनरल स्टाफ कलेज र युएस आर्मी वार कलेजले सम्मानित गरेका थिए।

प्रधान सेनापति क्षत्री सम्मानित भएको तस्वीर उक्त प्रतिष्ठानको पृथ्वीनारायण भवनको गोरखकाली कक्षमा राखिने जनाइएको छ।

समारोहमा पूर्वप्रधानसेनापतिहरु, बलाधिकृत रथी, बलाध्यक्ष रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, नेपाल अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत, नेपाली सेनाका रथीबृन्दहरु, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, पूर्व शिक्षाधिकृतहरु, नेपाली सैनिक प्रतिष्ठान (त्रि.वि.) का डिन, सैनिक सहचारीहरु लगायत नेपाली सेनाका अधिकृतहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement