राप्रपाको ठहर : आन्दोलन गरेर मात्रै नेपालको प्रणालीमा परिवर्तन ल्याउन सकिन्छ

राप्रपाको ठहर : आन्दोलन गरेर मात्रै नेपालको प्रणालीमा परिवर्तन ल्याउन सकिन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा यथास्थितिको अन्त्य गरेर नयाँ सम्झौता र समझदारीबाट अगाडि बढ्न आन्दोलन गर्नैपर्ने बताएका छन् ।

बुधबार काठमाण्डुमा आयोजित वर्तमान मुलुकको अवस्था र राप्रपाको नेतृत्वदायी भूमिका विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले आमजनतालाई ठीक तरिकाले बुझाउन नसक्दा आन्दोलनलाई प्रभावकारी बनाउन नसकेको भन्दै आन्दोलनलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

उनले भने, ‘हामीले ठीक तरिकाले संगठन निर्माण गर्न नसक्दा र आमजनतालाई ठीक तरिकाले बुझाउन नसक्दा हामीले आन्दोलनलाई प्रभावकारी र परिणाममुखी बनाउन सकेनौं । तर फेरि पनि भन्छु हामीले यो देशमा यथास्थितिको अन्त्य गरेर एउटा नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि लानको लागि आन्दोलन गर्नैपर्छ र आन्दोलन उठाउनैपर्छ । आन्दोलन अनिवार्य छ र हामीले गर्ने संगठनको सबै क्रियाकलापहरू आन्दोलनको तयारीको रूपमा नै हामीले बुझ्नुपर्छ ।’

उनले नेपालमा ठूला ठूला परिवर्तन आन्दोलनबाट नै भएको भन्दै नेपालमा आधारभूत रूपमा प्रणालीमा नै परिवर्तन गर्ने हो भने आन्दोलन नै प्रथम कुरा भएको बताए ।

उनले भने, ‘२००७, ४६ र ६२, ६३ सालको ३ वटा परिवर्तन आन्दोलनको बलमा नै भएको थियो । चुनावबाट राणा शासनको अन्त्य भएको थिएन, आन्दोलनबाटै भएको थियो । नेपालमा आधारभूत रूपमा प्रणालीमा नै परिवर्तन गर्ने हो भने आन्दोलन नै प्रथम कुरा हो । आन्दोलनले नै यो व्यवस्था परिवर्तन हुनसक्छ । यो नेताहरूमा समस्या छ तर यो नेताहरूले ल्याएको व्यवस्थामा पनि समस्या छ । यो व्यवस्थाले ल्याएको निर्वाचन प्रणाली भ्रष्ट छ, नेतालाई पैसा खुवाएर मन्त्री, प्रधानमन्त्री बन्नुपर्ने र प्रधानमन्त्री भइसकेपछि देशको लागि होइन, आफ्नो निर्वाचन क्षेत्रको लागि काम गर्ने व्यवस्था छ ।’

भ्रष्ट नेताहरूले जोगिनको लागि अख्तियार र अदालत जस्तो ठाँउमा पनि आफ्नो मान्छे नियुक्त गरेको पनि उनको आरोप छ ।

उनले भने, ‘भ्रष्टाचार कसले गर्छ भन्दा नेताहरूले गर्छ । उनीहरूलाई कारबाही गर्ने संवैधानिक निकाय को हो भन्दा अख्तियार, अदालत हो र बडो सम्मानपूर्वक भन्छु नेताले नियुक्ति गरेका ती मानिसले नेतालाई कारबाही गर्छ कि गर्दैन होला त, नेतालाई कारबाही गर्ने ठाँउमा नेताले नियुक्ति गरेको मान्छे भएपछि भ्रष्टाचारीहरूलाई कसले कारबाही गर्छ । त्यसकारण समस्या व्यवस्थामा छ र यो व्यवस्था नै परिवर्तन गर्नुपर्छ ।’