पसिना बगाएको पैसा मदिरामा स्वाहा


बैतडी- मादक पदार्थ सेवनका कारण उत्पन्न विकृति लामो समयदेखि समाजमा चिन्ताको विषय रहँदै आएको छ ।अनियन्त्रित मदिरा सेवन र किनबेचले यहाँका प्रशासनिक तथा सुरक्षा निकायको समेत टाउको दुखाउने गरेको छ ।

मदिरा नियन्त्रण यहाँको मुख्य चुनौती रहेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् । घरेलु मदिरा प्रतिबन्ध गर्ने अभियान सबै स्थानीय सरकारले चलाएको छ । गुणस्तरहीन मदिरामा अन्तःशुल्कको टिकटसमेत टाँसिएको हुँदैन ।

यस्ता मदिराले एकातिर सर्वसाधारणको स्वास्थ्यमा क्षति पु¥याइरहेको छ भने अर्काेतिर आर्थिक तथा सामाजिक अपराध बढाउन सहयोग गरेको स्थानीय बताउँछन् । गाउँ र बजारका मदिरा पसलहरूमा प्रतिबन्धित मदिरासमेत निर्वाध खरिद बिक्री भइरहेको गुनासो सुनिन्छ ।

मदिरा सेवनबाट सिर्जित घरेलु हिंसा तथा अपराधमा बढीजसो महिला र बालबालिका प्रभावित भएका छन् । निर्वाचित जनप्रतिनिधि आएपछि घरेलु मदिरा नियन्त्रणका सकारात्मक प्रयासहरू भएका छन् तर सडकसँगै गाउँगाउँमा बजारु मदिरा पनि पुगेको छ । मुख्य गरी यस्ता मदिरा उपभोग गर्ने यहाँका पुरुषहरू हुन्छन् ।

परिवारका पुरुषले मदिरा खाए घरमा झगडा हुँदा महिला र बालबालिका सबैभन्दा प्रभावित हुने गरेको गैरसरकारी संस्था महासङ्घ बैतडीका अध्यक्ष गोविन्दराज जोशी बताउनुहुन्छ । बाजुरा बुढीगङ्गा नगरपालिकाकी सीमा (नाम परिवर्तन) को १५ वर्षको उमेरमै विवाह भयो । अहिले एक स्थानीय विद्यालयमा कक्षा १० मा अध्ययनरत सीमा आफू बाध्यताले बालविवाह गरेको बताउनुहुन्छ ।

‘‘घरमा बुवा रक्सी खाएर सधैँ आमालाई कुटपिट गर्ने र सबैलाई गाली गर्ने भएकाले घर बस्नै मन लागेन अनि बिहे गरेँ,’’ उहाँको भनाइ छ । यो सुनाइरहँदा उहाँको आखामा आँसु छचल्कियो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement