सरकारले मात्रै गरेर कोरोनाको रोकथाम गर्न सकिन्नः गृहमन्त्री बादल


काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले भारतबाट हुने अवैध आवागमनलाई नियन्त्रण गर्ने प्रयास भइरहेको बताएका छन् ।

आइतबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै गृहमन्त्री बादलले सरकारले सीमाबाट लुकीछिपी आउनेलाई नियन्त्रणको प्रयास भइरहेको बताएका हुन् । कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि भन्दै सरकारले भारतबाट आउनेलाई कडाई गर्दै आइरहेको छ ।

सरकारले भारतबाट नेपाल प्रवेश गर्ने नाका १० वटा मात्रै खुल्ला गरेको छ । यसअघि २० वटा नाका खोलेको सरकारले भारतमा कोरोना संक्रमितको संख्या बढिरहेकाले थप कडाई गर्ने निर्णय गरेको हो ।

‘धेरै हदसम्म नियन्त्रण गरेको छ, तर केही मात्रामा लुकीछिपी आउने काम भइरहेको छ । यसलाई पूर्ण बन्द गर्ने हाम्रो प्रयास जारी छ’, गृहमन्त्री बादलले भने ।

त्यस्तै गृहमन्त्री बादलले कोरोना संक्रमणबाट जोगिन नागरिक सचेत हुनुपर्ने बताएका छन् । उनले सरकारले मात्र गरेर कोरोना नियन्त्रण नहुने भएकाले नागरिक सजग हुनुपर्ने बताए ।

‘नागरिकको सचेतताले मात्रै कोरोनाको संक्रमणलाई हामीले रोक्न सक्छौं । सरकारले मात्रै गरेर कोरोनाको रोकथाम गर्न सकिन्न,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement