नेपालमा चीन विरोधी गतिविधि स्वीकार्य हुँदैनः गृहमन्त्री बादल


काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र चिनियाँ समकक्षीबीच भेटवार्ता भएको छ । गृहमन्त्री बादलले चीनका सार्वजनिक सुरक्षा मन्त्री झाओ केजीसँगको भेटमा नेपाली भूमिमा चीनविरुद्ध हुने गतिविधि स्वीकार्य नहुने बताएका छन् ।

उनले नेपाल एक चीन नीतिमा दृढ रहेको पनि बताएका छन् । बादलले नेपालको सामाजिक तथा आर्थिक विकासमा चिनियाँ पक्षको सहयोगका लागि धन्यवाद पनि दिएका छन् ।

मन्त्री केजीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अवसरमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाएको भन्दै गृहमन्त्री बादललाई धन्यवाद दिएका थिए ।

उनले भनेका छन्, ‘सुरक्षा सहयोग, मानव संसाधन विकास र विपदमा राहतप्रति चीनको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्दछु ।’

भेटका क्रममा सार्वजनिक सुरक्षाका विषयमा दुईपक्षीय सहयोगलाई बढावा दिँदै सीमा अपराध नियन्त्रणका साथै क्षमता विकास र सीमा व्यवस्थापनका विषयमा पनि छलफल भएको चीनस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर जनाएको छ ।

दुई नेताबीच सीमालाई सुरक्षित राख्नका लागि दुई देशको कानून कार्यान्वयन गर्ने निकायबीच सहयोग र समन्वय बढाउने विषयमा सहमति पनि भएको जनाइएको छ ।

भेटवार्ताका क्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालसहित अन्य उच्च अधिकारी सहमति थिए । भ्रमण क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

भ्रमण टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा र नेपाल प्रहरीका डीआईजी सूर्यप्रसाद उपाध्यायलगायत छन् ।

गृहमन्त्री थापा नेतृत्वको टोलीले चीनको बेइजिङ, सांघाई र ल्हासा भ्रमण गर्ने कार्यक्रम छ । गृहमन्त्री बादल २५ पुसमा नेपाल फर्किने तालिका छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement