हेडक्वार्टरबीचको टुँडिखेल सेनाले कब्जा गर्न मिल्दैनः रामनारायण बिडारी


काठमाडौं – सत्तारुढ नेकपाका सांसद रामनारायण बिडारीले शहीदगेटदेखि नेपाली सेनाको हेडक्वार्टरबीचको टुँडिखेल सेनाले कब्जा गरेकोमा विरोध जनाएका छन् । राष्ट्रिय सभा बैठकमा सांसद बिडारीले सेनाले जनतालाई टुँडिखेल उपभोग गर्न रोकेको र सेनाले कब्जा गर्न पनि नमिल्ने बताए ।

‘रानीपोखरीदेखि आर्मी हेडक्वाटरसम्म रहेको टुँडिखेलमा विस्तार विस्तार जङ्गी अड्डा सर्दैसर्दै सहिदगेट आइपुग्यो’ बिडारीले भने, ‘अहिले जनताले उपभोग गर्न पाउँदैनन् । त्यहाँ सैनिक परेड खेलेको हुन्छ । हेडक्वार्टरबीचको टुँडिखेल सेनाले कब्जा गर्न मिल्दैन ।’

उनले रानीपोखरी पछि रत्नपार्क र खुलामञ्च भूकम्पपछि कब्जा भएकोमा विरोध गरे । टुँडिखेल मुलुकको प्राकृतिक र सांस्कृतिक पहिचान भएको बिडारीको तर्क थियो । उनले खुल्लामञ्चमा बसपार्क बनाइएको उल्लेख गर्दै टुँडिखेलको उत्तरमा रहेको बसपार्कको ठाउँ टावर बनाउने नाममा ओगटिएकोमा प्रश्न गरे ।

‘टुँडिखेलको उत्तरपूर्वको बसपार्क पुरै ओगटेर राखेको छ, ठेकेदारले । कति पैसा खायो, किन त्यहाँ का रोकेर राख्यो । टुँडिखेलमा त्यसो गर्ने मन्त्री कहाँ हल्लिँदै छ, खोज्नुपर्‍यो, बिडारीले भने, ‘बसपार्क खुल्लामञ्चमा राख्ने र टावर बनाउने अपराधीपूर्ण योजना कसले बनाउँछ ।’

बिडारीले सेनाले प्रयोग गरिरहेको सहिगेट भन्दा तलपट्टिको टुँडिखेलमा स्थायी संरचना बनाउन नहुने बताए ।

‘शहीदगेट र जंगीअड्डाबीचको अर्को सानो टुँडिखेल जनताले चलाउन पाउँदैनन् । खबरदार त्यो शहीदगेटबाट जंगी अड्डाको बीचमा कुनै स्थायी संरचना बनाउन पाँइदैन’ बिडारीले भने ।

शहीदगेटबाट तल्लो भागको टुँडिखेलमा सेनाले पछिल्लो समय प्यारापिट सहितको खेल मैदान, पुस्तकालयको पक्की भवन बनाएको छ ।

सांसद बिडारीले रक्षा मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र संघीय मामिला मन्त्रालय र स्थानीय तहलाई समेत टुँडिखेलको अवस्थाबारे ध्यानाकर्षण गराए ।

बिडारीले काठमाडौंको नेवार समुदायको जात्रापर्व गर्ने ठाउँ र देउता रहेको ठाउँमा सेना रहेकाले त्यहाँ बिद्रोह हुनसक्ने बताए । ‘यही सरकारले सेनासँग कुरा गरेर जनताले उपभोग गर्न पाउनुपर्ने गर्नुप‍र्यो’ बिडारीले भने, ‘यति काम नगर्दा अजिमा जस्तो देउता सेनाको परिधिभित्र छ । त्यहाँ विद्रोह हुने सम्भावना छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement