धितोपत्र बोर्डका अध्यक्ष हमालमाथि लेनदेनको आरोप : अर्थसचिवले सोधे स्पष्टिकरण


काठमाण्डु – नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल विवादमा तानिएका छन् । प्राथमिक सेयर (आइपीओ), ऋणपत्र, बुक बिल्डिङलगायतका लागि स्वीकृति माग्न गएका कम्पनीहरुसंग आर्थिक लाभ लिन खोजेको आरोप उनिमाथि लागेपछि हमाल विवादमा आएका हुन् ।

हमाललाई तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा र अर्थमन्त्री जनार्दन शर्माको जोडबलमा बोर्डमा ल्याइएको हो । थाइल्याडको एआइटीबाट एमबीए गरेका हमालले सुरुमा पुजिबजारमा सुधार गर्ने कोशिस गरेपनि पछिल्लो समय निजी फाइदाका काममा मात्र केन्द्रीत भएको बताइन्छ ।

हमालमाथि बीमा कम्पनी,सिमेन्ट र होटलसंग पैसा मागेको आरोप लागेको हो । उनले ब्रोकर कम्पनीसंग समेत पैसाको डिल गरेको स्रोतको दावी छ । हमाल निकट केही विचौलिया यसमा संलग्न रहेको प्रमाण अर्थमन्त्री विष्णु पौडेलसंग पुगिसकेको छ । उनले अर्थमन्त्री पौडेलको समेत यसमा नाम मुछेका छन् । आर्थिक लेनदेनको आरोप लागेपछि सोमबार उनलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

अर्थसचिव तोयम रायले मन्त्रालयमा बोलाएर हमाललाई स्पष्टीकरण सोधेका हुन् । उनिविरुद्ध छानविन समिति गठन गरेर नै अनुसन्धान गर्ने अर्थको तयारी छ । तर, हमालले भने अर्थ सचिव रायसंग नियोजित रुपमा बदनाम गराउने कोसिस भएको दावी गरेका थिए । उनले सबै आरोप आधारहीन भएको भन्दै आफ्नो पृष्ठभुमि चेक गर्न सचिवलाई भनेका थिए ।

हमालले आधारहिन आरोप भनेपनि उनिविरुद्ध दर्जनौ उजुरी अर्थमन्त्रालयमा परेका छन् । उनले धितोपत्र बोर्डको भन्दा आफ्ना निजि कार्यालयमा बढी समय बिताउने गरेको, बोर्डका कर्मचारीहरुलाई बाइपास गर्ने गरेको आरोप उनिमाथि छ ।

यसअघि बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको सेयर खरिद–बिक्री प्रकरणमा विवादमा आएपछि उनलाई बर्खास्त गरिएको थियो । हमाललाई दुई वर्षका लागि नियुक्त गरिएको थियो ।

हमालले अर्थमन्त्री पौडेलसंग भेटको समय मागेपनि अहिलेसम्म औपचारिक भेट पाएका छैनन् । पौडेल र हमालको भैसेपाटीमा घर नजिक भएपनि अहिलेसम्म उनले भेट नपाएको स्रोत बताउंछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement