भुटानी मोडेलको राजसंस्था हामीलाई आवश्यक छैन : रमेश खरेल


काठमाण्डु – नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआईजी) रमेश खरेलले पूर्वभारतीय राजदूत रञ्जित रेले नेपालको सार्वभौमिकतामाथि प्रहार गरेको बताएका छन् ।

मंगलवार काठमाण्डुमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद् नेपालको पत्रकार सम्मेलनमा खरेलले पूर्वराजदूत रेको पुस्तक ‘काठमाण्डू डिलेमाः रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताएका हुन् ।

‘हामी मित्र राष्ट्रसँग राम्रो सम्बन्ध बिस्तार गर्न चाहन्छौँ तर हाम्रा शासकहरु दुविधामा भए, लम्पसारवादमा विश्वास गरे, व्यक्तिगत स्वार्थका लागि नेपाल–भारतको नाता व्याख्या गर्न थाले, जसकारण भारतले हामीलाई हेप्यो, किताबमा मात्र होइन, हाम्रो राष्ट्रियतामाथि भारतले प्रहार गरेको छ,’ उनले भने, ‘हाम्रो निकम्मापनका कारण हामी हेपिएका छौँ, नेपाल सरकार यो किताब सार्वजनिक भएको १५ दिन हुँदा समेत मौन छ, हामीले शान्तिपूर्वक यसको बिरोध गर्नुपर्छ, पुस्तकमा लेखिएका नारायणकाजी श्रेष्ठ र विमलेन्द्र निधीको द्वेध चरित्र भने यथार्थ हो ।’

पूर्वडीआईजी रमेश खरेलले नेपाललाई भुटानी ढाँचामा लैजान भारतले निरन्तर गरिरहेको प्रयास र नेपाली जनताको सार्वभौमसत्तामाथि सधै खेलिरहने भारतको मनसाय कायमै रहेको बताए । भारतसँग मैत्रीपूर्ण सम्वादबाट समस्याको समाधान खोजिनुपर्नेसमेत उनको भनाइ छ ।

राष्ट्रियता बचाई राख्न कुटनीतिक निकाय र गृह प्रशासन चनाखो हुनुपर्ने जनाउँदै उनले पूर्वसुरक्षा निकायमात्रै नभई हरेक नेपालीमा राष्ट्रियता जाग्नुपर्ने बेला आइसकेको बताए । कहिले पनि कसैको गुलाम नभएको देशको राष्ट्रियतामाथि कसैले सवाल उठाउँछ भने पूर्वसुरक्षाकर्मी कुनै पनि हालतमा चुप लागेर नबस्नेसमेत उनले चेतावनी दिए ।

पूर्वजर्नेल डा. प्रेमसिह बस्न्यातले विकासका नाममा एमसीसी भित्राउन र कोही भूटानी मोडेलको राज्य स्थापना गरि सिक्कीमे लेन्डुप बनाउने अभिप्राय रहेको हुँदा यस्तो लोन्डुपे प्रवृतिविरुद्व एक भई उभिनुपर्नेमा जोड दिए । सार्वभौम स्वतन्त्रता र स्वाधिनतालाई कुल्चने भुटानी मोडलको राजसंस्था आवश्यक नरहेको उनको भनाइ छ ।

यदि देश र जनतालाई आवश्यक महशुस भए नेपालीले नै आवश्यकताअनुसारको राजसंस्था स्थापना गर्न सक्षम रहेको उनले बताए । सुगौली सन्धिपछि नेपालको सार्वभौमिकता, अखण्डता, राष्ट्रियता, राष्ट्रिय एकता र नागरिक सुरक्षा सबैभन्दा कमजोर दुर्बल भएको, नेपाली जनता निर्णायक नभै विदेशीहरु निर्णायक रहँदै आएको उनको भनाइ छ । तिनै तत्वहरुले नेपाली धर्म संस्कृति, नेपाली भाषा, नेपाली सेना, नेपाल प्रहरी सबैलाई कमजोर बनाउन खोजेको उनले बताए ।

सामाजिक अभियन्ता राजेन्द्र केशरी पाण्डेले नेपाल कहिल्यै कसैको गुलाम नभएको भन्दै राष्ट्रियताको सवालमा प्रश्न उठाउँछ भने पूर्वसुरक्षाकर्मी कुनै हालतमा चुप नबस्ने बताए । उनले भने, ‘यस्ता किसिमका क्रियाकलापका खातिर सदैब खबरदारी गर्दै परिआए राष्ट्रका लागि बलिदानी दिन समेत तयार छौं ।’

त्यस्तै, घाइते तथा अपांग संघ तथा भुपूसुरक्षाकर्मी संघका उपाध्यक्ष हिमाल अर्यालले सार्वभौम स्वतन्त्रता र स्वाधिनतालाई कुल्चने भुटानी मोडेलको राजसंस्था आवश्यक नभएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement