गृहमन्त्री लेखक र स्वीस राजदूत मेउलीबीच शिष्टाचार भेटवार्ता

गृहमन्त्री लेखक र स्वीस राजदूत मेउलीबीच शिष्टाचार भेटवार्ता


काठमाण्डु – गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि स्वीस राजदूत डा. डेनिएल मेउलीले शिष्टाचार भेटघाट गरेका छन् ।

सोमबार गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले नेपाल र स्वीट्जरल्याण्डबीच सन् १९५६ देखि बलियो द्विपक्षीय सम्बन्ध रहेको बताएका छन् ।

स्वीस राष्ट्रपतिसँग द्विपक्षीय भेटका लागि गत जेठ २९ गते नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले गरेको स्वीट्जरल्याण्डको भ्रमणले २ देशबीचको सम्बन्धलाई थप मजबुत बनाएको उनको भनाइ थियो ।

भौगोलिक दूरी र फरक विकास स्तरका बाबजुद दुवै देशले मित्रता, सहयोग र पारस्परिक सम्मानलाई कायम गरेको भन्दै नेपालको शान्ति प्रक्रियामा स्वीसले गरेको सहयोगको गृहमन्त्री लेखकले प्रशंसा गरेका थिए ।

‘विकास र सहयोगका लागि स्वीस एजेन्सीले नेपालको सामाजिक आर्थिक विकासमा उल्लेख्य योगदान गरेको छ । आगामी दिनहरूमा विपद् व्यवस्थापन र जलवायु परिवर्तनको क्षेत्रमा सहायता उपलब्ध हुने विश्वास लिएको छु,’ उनले भने ।

गृहमन्त्री लेखकले सन् २०२६ सम्ममा नेपाल न्यून आय भएको मुलुकबाट स्तरोन्नति भइ २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य प्राप्तिको लागि स्रोत, साझेदारी र प्रविधिमा स्वीट्जरल्यान्डसँग सहयोगको अपेक्षा गरेका थिए ।

‘नेपालले विकास सहयोग र प्रत्यक्ष वैदेशिक लगानीमा स्वीस सरकारसँग सहयोगको अपेक्षा गर्दछ । जलवायु परिवर्तन नेपालको लागि महत्त्वपूर्ण मुद्दा भएकाले सीओपी—२८ जस्ता विश्वव्यापी मञ्चहरूमा नेपालले उठाउँदै आएको पर्वतीय मुद्दालाई समर्थन गर्न स्वीस सरकारसमक्ष आग्रह गर्दछ,’ उनले भने ।

राजदूत मेउलीले नेपालको संक्रमणकालीन न्यायका विषयमा चासो व्यक्त गरेका थिए । उनले संक्रमणकालीन न्यायको विषय कार्यान्वयनका लागि स्वीट्जरल्याण्डको सहयोग रहने बताएका छन् ।