काठमाण्डु–गृहमन्त्री रमेश लेखकले सरदरभन्दा बढी बर्षातका कारण यस बर्ष बाढी, पहिरो लगायत मनसुनजन्य घटनाहरुमा बढोत्तरी भई जनधनको क्षति भएको बताएका छन् ।
आइतबार सिंहदरबारस्थित संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपद् व्यवस्थापनमा भएका कामकारबाही र सिमलताल बस दुर्घटना प्रतिवेदनको निश्कर्ष र भावी योजनाको विषयमा जानकारी गराउँदै मन्त्री लेखकले हालसम्मको तथ्यांक अनुसार सरदर भन्दा ४८.५ प्रतिशत बढी बर्षा भएको जानकारी दिए ।
समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले गत जेठ २८ गते मनसुन नेपाल प्रवेश गरेयता पहिरो, बाढी र चटयाङमा परी १ सय ७० जनाको मृत्यु, ४४ जना बेपत्ता र १९७ जना घाइते भएको जानकारी दिए ।“ पहिरोमा परी १०९को मृत्यु ३९ जना बेपत्ता, बाढीमा ३५ जनाको मृत्यु, ६ जना बेपत्ता र चट्याङमा २४ जनाको मृत्यु भएको छ ।” उनले भने“ यो बिचमा बाढी, पहिरो, भारी बर्षा र चट्याङका एक हजार २१२ घटना भएका छन् ।”
त्यसैगरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २३ औं बैठकले मनसुज पूर्वतयारी तथा प्रतिकार्य योजना स्वीकृत गरी कार्यान्वयनमा लगिएको उनले जानकारी दिए ।
“ जल तथा मौसम विज्ञान विभागसंगको समन्वयलाई प्रभावकारी बनाई जोखिमका सूचनाहरु निरन्तर आदान प्रदान गर्ने गरिएको छ ।” मन्त्री लेखकले भने–“ सोही आधारमा प्राधिकरणले गत साउन २२ गते उच्च सर्तकताका लागि सुचना जारी समेत गरेको छ ।”
उनले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी १८ हजार ७७७ सुरक्षाकर्मी राहत, खोज तथा उद्दारमा खटिएको जानकारी दिए । आगामी डेढ महिना अझै मनसुन बाँकी रहेकाले सोही अनुसार गृह मन्त्रालय गृहकार्य गरी पुर्वतयारी गरिरहेको बताए ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिसित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा आवश्यक वित्तीय स्रोतको व्यवस्थापन, व्यवस्थापनमा भइ गरेका क्रियाकलापहरुको निरन्तर अनुगमन र पृष्ठपोषण गर्नुका साथै समितिको छलफलको क्रममा रहेको अन्य विषयगत कानून निर्माणमा विपद् जोखिम न्यूनीकरणको आयाम समावेश गर्न अपेक्षा गरिएको मन्त्री लेखकको भनाई थियो ।
त्यसैगरी आगामी दिनमा यसप्रकारका घटना हुन नदिने उचित कदम चालिने भन्दै लेखकले सडक संरचना सुधार, प्रशासनिक तथा व्यवस्थापकीय सुधार, खोज तथा उद्दार कार्या लागि आधुनिक प्रविधि र सामाग्रीको व्यवस्थापन, सुचना प्रविधिको प्रयोगमा जोड, तालिम प्रशिक्षण लगायतका विषयमा व्यवस्थापनमा जोड दिइएको मन्त्री लेखकको भनाई छ ।
प्रतिक्रिया