काठमाण्डु – तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य हुँदा नेत्री रामकुमारी झाक्रीले दिएको अभिव्यक्तिका कारण प्रहरीले उनलाई पक्राउ नै गर्यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनप्रति असन्तुष्टि जनाउँदै दिएको अभिव्यक्ति विवादित बनेपछि उनलाई प्रहरीले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ गरिएको थियो ।
२०७७ माघ २९ गतेको त्यो घटनापछि नेत्री झाक्री प्रधानमन्त्री ओलीसँग राजनीतिक पार्टीमा सँगसँगै रहिनन्, उनी ओली विरोधी कित्तामा उभिँदै एमाले विभाजन भई गठन भएको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य बनिन् । नेकपामा रहँदै झाक्री तत्कालीन नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालको कित्तामा खुलेरै लागेकी थिइन् । पार्टी विभाजनमा पनि झाक्रीको सक्रिय सहभागिता थियो ।
उनी पक्राउ पर्नुअघि २०७७ माघ २८ गते काठमाण्डुमा ओलीविरुद्ध लागेका नेताहरूको अगुवाइमा विरोधसभा गरिएको थियो । जसमा नेत्री झाक्री मुखमा कालोपट्टि लगाएर सांकेतिक विरोधमा उत्रिएकी थिइन् । उनले बोल्न पाउनुपर्ने मत राख्न सांकेतिक विरोध जनाएकी थिइन् ।
तर एमालेबाट विभाजन भएर एकीकृत समाजवादीमा रहँदा पनि नेत्री झाक्रीले ढुक्कसँग बोल्न पाउने अवस्था देखिएन । नेकपाकालमा उनीमाथि देखिएको संकटको पुनरावृत्ति भएको छ । यसपालि नेत्री झाक्री पुन: अभिव्यक्तिकै कारण विवादमा परेकी छन् ।
पार्टी अध्यक्ष नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनले अर्लि महाधिवेशनको माग गर्दै काँधमा मरेको सिनो बोकेर हिँड्न नसकिने अभिव्यक्ति दिइन् ।
उनले भनिन्, ‘पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं । कसरी गर्ने ? कानूनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’
नेत्री झाक्रीले यस्तो अभिव्यक्ति दिएपछि उनलाई पार्टीले स्पष्टीकरण सोधेको चर्चा छ । तर उनले भने पार्टी कमिटीको कुनै पनि बैठकले निर्णय नगरेकाले स्पष्टीकरण सोधिएको भन्न नमिल्ने तर्क गरेकी छन् । बोल्न पाउनुपर्ने भन्दै तत्कालीन एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीमा सक्रिय भएकी झाक्री यतिबेला बोलेकै कारण एकीकृत समाजवादीभित्र पनि विवादमा परेकी छन् ।
पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको बताए । उनले भने, ‘उहाँलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो । अनुशासनले सोधेपछि पार्टीले नै सोधेको हुन्छ ।’
नेत्री झाक्रीले भने केही शक्तिशाली नेताहरूले स्पष्टीकरण सोधेको बताइन् । ‘केही शक्तिशाली पदाधिकारीहरूले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ, मलाई त सोधिएको छैन । टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिएँ, मैले बोलेको कन्टेनको हिसाबले । १५ गते यसबारे कुनै क्रिया, प्रतिक्रिया नदिनु भनेर निर्देशन पनि जारी गरेको थियो । यसरी उहाँहरू बोलिरहँदा पार्टी नेता र पार्टीलाई समेत क्षति भएको महसूस गरेको छु,’ उनले भनिन्, ‘जिम्मेवार पदाधिकारी बोलिरहेको विषयमा के हो त, स्पष्टीकरण मलाई पनि नसोध्ने, बाहिर–बाहिर सोध्ने के हो कुरा ? तपाईंहरूको बैठकमा मलाई बोलाउनुस्, म त्यसको जवाफ स–विस्तार दिन्छु । म कुन कन्टेस्टमा बोलें, कुन कन्टेन्टमा बोलें । मेरो कुराको भनाइ के हो र गलत हो भने कसरी हो ? त्यसमा म हरप्रकारको तथ्य प्रमाण बैठकमै उपस्थित भएर बोल्छु भनेर एउटा निवेदन लिएर आएको हुँ ।’
प्रतिक्रिया