रामकुमारी झाँक्री भन्छिन्ः कुन कानूनअन्तर्गत मन्त्रीका पछाडि दर्जन सल्लाहकार राखियो ?

रामकुमारी झाँक्री भन्छिन्ः कुन कानूनअन्तर्गत मन्त्रीका पछाडि दर्जन सल्लाहकार राखियो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एमाले सांसद् रामकुमारी झाँक्रीले अनिर्वाचितहरुले सिंहदरबारबाट शासन चलाइरहेको भन्दै त्यसबारे सरकारको जवाफ माग गरेकी छन् ।

मंगलबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै झाँक्रीले सुशासनको नारा दिएर आएको रास्वपाको सरकारले स्वपानमा आधारित ब्युरोक्रेसीबाट प्रशासन नचलाएको र अनिर्वाचितहरुमार्फत शासन गरिरहेको आरोप लगाइन् ।

मन्त्रीहरुले विशिष्ट श्रेणी, फस्ट क्लास र सेकेण्ड क्लास तहको सुविधा पाउने गरी सल्लाहकारहरु नियुक्त गरेको विषयमा सरकारको धारणा माग गरिन् ।

सरकारको कार्यशैलीबाट असन्तुष्ट भएर धेरै कर्मचारीले राजीनामा दिएको उनको भनाइ थियो ।

‘यो सरकार सुशासनको नारा दिएर आएको छ । ब्युरोक्रेसीमा रहेका धेरै मानिसहरुले धमाधम राजीनामा दिएको भन्ने छ । मन्त्रीहरुका पछाडि दर्जन दर्जन सल्लाहकारहरु, विशिष्ट श्रेणीका, फस्ट क्लास, सेकेण्ड क्लास तहको सुविधा पाउने गरी नियुक्ति गरिएको भन्ने कुराहरु आइरहेको छ । यो के हो ?’, उनले भनिन्, ‘सुशासनको नारा दिएका मानिसहरुले स्वपानमा आधारित ब्युरोक्रेसीबाट प्रशासन पनि नचलाउने र अनिर्वाचितहरुले सिंहदरबारमा शासन गर्ने तरिका के हो ?’


झाँक्रीले सरकारले कसले कुनकुन तहका सुविधाहरु पाउने गरी कुन निर्णयका आधारमा नियुक्ति पाएको हो भन्नेबारे सदनलाई जानकारी गराउनुपर्ने बताइन् ।

‘कुन संविधान र कुन कानूनले यो अधिकार दिएको छ ? उहाँहरुको प्रतिबद्धता भन्दा बाहिर यो कसरी गर्न सक्नुहुन्छ ? सदनमा आएर सम्बन्धित मन्त्री वा प्रधानमन्त्रीको कार्यालयले जानकारी देओस् जनतालाई’, उनले भनिन् ।