बलात्कार गर्ने पुरुष, पीडा भोग्ने अबोध बालिका अनि दोष फेरि त्यही पीडितको ?


काठमाडौं – निशब्द अनि खल्लो मन लिएर कार्यलयतर्फ कुदिरहेकी छु । बाटो भिडभाड छ । अफिस टाइम भएर होला । रोडमा सुस्त गतिमा स्कुटर हाँक्दै गर्दा स्कुले ड्रेसमा दुई चुल्ठे रिवन बाँधेर उज्यालो अनुहार लिएर स्कुलतर्फ पढ्न गइरहेका बालिकाहरुलाई देख्छु । निस्फिक्री रुपमा उनीहरु आफ्नो साथीसँग हातेमालो गर्दै खुसी भएर पढ्न गइरहेका छन् । उनीहरुको वालापन अनि भविष्यमा केही बन्ने मनोभावनाले मलाई तानिरह्यो ।

विद्या राजपूत।

यी सबै बालिका पढेर जीवनमा केही न केही त पक्कै बन्न चाहन्छन् । कसैको डाक्टर, कसैको इन्जिनियर, वकिल, पाइलट, कलाकार, प्रधानमन्त्री, राष्ट्रपति अथवा केही न केही बन्ने सपना त पक्कै होला । आफ्ना लालाबालाका यिनै रंगीचंगी सपना पूरा गर्न अभिभावक कतिका जुठा भाँडा माझिरहेका होलान् त कतिले पसिनामा नुहाइरहेका ।

आधा पेट खाएर आफ्ना सन्तानका भविष्यमा आधा पेट लगाउनेहरुको पनि कम छैनन् । यी अबोध बालिकाहरुले बुनेको सपना पूरा गर्न अहिले कति मेहनेत गरिरहेका होलान् ।

उनीहरुको मुहारमा सपनाको चाङ देख्दा मेरो अध्यारो मनमा पनि केही उज्यालोका किरणहरु लहराउछन् । अनेक कुरा सोच्दै गर्दा ती बालिकाहरु मेरो आँखाबाट केही मिनेटमै ओझेल पर्छन् । तर, बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको मुहार मेरा आँखाबाट १ सेकेण्डको लागि पनि टाढा जान सकेको छैन । म हरेक ती स्कुले बालिकाहरुमा उनै पीडित मृत निर्मलाको झल्को पाउछु सायद ।

साथीको घर पढ्न गएकी ती अबोध बालिकाको बलात्कारपछि हत्या भएपछि उनको परिवारको संसार भासिएको छ । तर, उक्त घटनाले उनको परिवार मात्र नभएर सारा नेपालीको मन रोएको छ । मेरो मन पनि उसै गरी रोइरहेको छ, जसरी उनकी आमा रोइरहेकी छिन् ।

बलात्कार विक्षिप्त मानसिकताको पराकाष्ठ हो । बलात्कार, शब्दमै गरुङ्कोपना छ । अमानवीयता छ, अपराध छ अन्याय छ । शब्द नै त यति भारी हुँदा बलात्कार भोग्नेमाथि के होला ? ती बल्ल १३ वर्षकी निर्मलाले कसरी प्रतिवाद गरिन् होलिन् ? कसरी आफूमाथिको नरपशुहरुको अमानवीयता, अपराध र अन्यायको विरोध गरिन् होला ? यति सहँदा पनि उनको आवाज सदाको लागि थुन्ने हिम्मत ती अपराधीले कसरी गरे होलान् ?

अपराध गरेर फरार अपराधी अझै भाग्न सफल छन् । प्रहरी प्रशासनले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन । सरकार दिनदिनै अनेक विषयमा सजायको दायरा फराकिलो बनाउँदै लगेको छ । तर, बलात्कारको मुद्धा सरकारको प्राथमिकतामा पर्न सकेको छैन । भारतको संविधानमा बालिका बलात्कार गर्नेलाई फाँसीको सजाय दिने व्यवस्था गरिसकेको छ । तर, नेपालमा यस विषयमा वहस नै भएको छैन । बलात्कारको मुद्धामा निकै फितलो अनुसन्धान हुने गरेको छ । यही कारण अपराधी झनै मौलाउँदै गएका छन् ।

भारी मनले कार्यलय आइपुगें । झोला विसाएँ अनि ल्यापटपमा उनकै बारेमा प्रकाशित समाचार, लेख अनि बहसहरुलाई पछ्याएँ । मेरो मुहारमा देखिएको अध्यारोपन अनि असहमतिलाई छिचोल्दै एउटी सहकर्मी साथीले उनै निर्मलाको बारेमा कुरा गर्न थालिन् । आखिर उनी महिला अनि आमा नै थिइन् । त्यो पनि छोरीको ।

बालिका बलात्कार अनि हत्या विषयमा उनको आवाज ठूलो हुनु स्वभाविक नै थियो ।
‘हेर न सामाजिक सञ्जालमा एउटा ठुलै मान्छेले छोटो लुगा लगाएर हिँड््ने महिलाले पुरुषलाई बलात्कार गर्न अपिल गरिरहेका छन् भन्दै कमेन्ट गरिरहेका छन् । के सोचको मान्छे होला है ?’ उनले ठूला—ठूलो आक्रोशित आवाजले सुनाइन् ।

उनले सुनाएको कुराले उपस्थित महिला सहकर्मी आक्रोशित मुद्धामा थिए । ‘बलात्कार गर्ने पुरुष, पीडा भोग्ने अबोध बालिका अनि दोष फेरि त्यही पीडितको ?’ उफ् यो समाजका सज्जनबृन्दहरुको सोच । साँच्चै के उनकै दोष थियो त बलात्कारको सिकार हुनमा ? उनको के दोष थियो ? उनको छोटो कपडाले उनी बलात्कारको सिकार भएकी थिइन् र? १३ वर्ष बालिका बलात्कारको सिकार भएकी छन्, अपराध लुकाउन उनको हत्या भएको छ । उनको परिवारले छोरी गुमाएका छन् ।

अनि समाजमा कस्तो बहस भएको छ ? छोटा लुगाले महिला आफैलाई बलात्कार गर भनेर पुरुषलाई अपिल गरिरहेकी छन् अरे । अपराधिक मनोवृतिका मानिसको मनोभावको पछि लागेर बलात्कारको सिकार र हत्या गरिएकी बालिकाको विषय ती सज्जन बृन्दलाई सामान्य लागेको छ । सामाजिक सञ्जालमा ती सञ्जन बृन्दको स्ट्याटसमा आएको कमेन्टलाई प्रतिवाद गर्दै बलात्कार गर्नेहरुको मनोभावको खुबै चर्चा गर्दै हावा नचली पात हल्लिँदैन जस्तो कूतर्क दिइरहेका थिए ।

सबै आगो दन्किए जस्तै आफ्नो असहमति जनाउन थाले । अनि एउटा साथीले आफूमाथि भएको हिंसाको अनुभव साटिन् । उनी काठमाडौंको केन्द्रमा रहेको शहिद गेटबाट टुँडिखेलको बाटो हुँदै बस भेट्न जाँदै थिइन् । त्यहाँ उनको आँखा एउटा अर्धनग्न पुरुषले आफ्नो संवेदनशील अंग खेलाएर बसेको ठाउँमा पुग्यो । उनले आफ्नो आँखा झुकाइन् र तन्केर भागिन् ।

उनले न कुनै छोटो लुगा लगाएकी थिइन् न ती पुरुषलाई सेक्स अपिल नै गरेकी थिइन् तर ती पुरुष ती जस्ती सबै महिलालाई आफूतिर आकर्षित गर्न लिंग देखाएर बसेका थिए । राजधानीको केन्द्रमा नै नियोजित रुपमा गरिएको यस्तो हर्कत धेरै महिलाले भोगेका होलान् सायद । कोही खुलेर यस विषयमा कुरा गर्छन् कोही मनमनै दबाएर बस्छन् । हरेक महिला यस्ता हिंसाको सिकार कुनै न कुनै समयमा भएकै छन् । एक चोटी सोधी हेरुम त । तर, के बलात्कार विषयको बहस महिलाको लागि मात्रै हो? के महिला बलात्कारको घटनाले पुरुषलाई सिरिङ्ग पार्दैन । सहीलाई सही र गलतलाई गलत भन्न सक्दैनन् ।

देशभरका पुरुषले बलात्कारकै विषयमा कहिले बोल्ने? जब महिलामाथि बलात्कारको विषयमा बहस हुन्छ अनि केही सज्जनवृन्दले कुतर्कले किन अपराधीको पक्षमा बोलेको जस्तो गरी बहसमा किन मिसिन्छन् । अपराधीको अपराध लुकाउन पुरुषको मनोविज्ञानका कुरालाई लिएर धेरै सज्जनहरुले किन अनेक कूतर्क दिइरहेका हुन्छन् ?एउटा पुरुष महिला विना कहिल्यै पूरा भएको छैन । जन्मदिने आमा, जीवनसाथी अनि छोरीको भूमिकालाई स्वीकार्ने पुरुषले अर्काकी आमा, श्रीमती, छोरीको अस्तित्व किन स्वीकार गर्न सक्दैन ? अहिले बलात्कारीको विरुद्ध नबोली पीडितलाई नै दोष देखाउने पितृ सत्तात्मक समाज विरुद्ध अहिलेका महिला लड्नु परेको छ ।

बलात्कारलाई निरुत्साहित गर्न अब व्यापक बहस हुन जरुरी छ । समाज, सामाजिक संजाल, टोल—टोल, स्कुल, संसदमा यसबारे व्यापक संवेदनशीलता अपनाउनै पर्छ । आखिर कहिलेसम्म भविष्यका कर्णधारलाई कोपिलैमा टिपेर फालिदिने? कहिलेसम्म अन्यायलाई नै न्याय मानिरहने? दोषी फेला पारेर कारवाहीको कठघरामा उभाउन नसक्ने प्रहरी प्रसाशनले कसरी सुरक्षा दिन सक्छ ? सरकारले यसमा जवाफ दिनुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement