राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक, गृहमन्त्रीमा पुनः दावी गर्ने सम्भावना


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ । सर्वोच्चको शुक्रवारको फैसलापछि रास्वपाका सभापति रवि लामिछानेको गृहमन्त्री र सांसद दुवै पद गएपछि उक्त पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको हो । सभापति लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्चले गरेको फैसलापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न रास्वपाले बैठक शनिवार बिहान ९ बजेका लागि बोलाएको छ ।

बैठकले कार्यबाहक सभापतिको जिम्मा डोलप्रसाद अर्याललाई दिने निर्णय गर्ने सम्भावना छ । त्यसका साथै बैठकले लामिछानेलाई चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने र उनको नागरिकता प्राप्तिको तयारी गर्ने निर्णय समेत गर्नेछ ।

लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै शुक्रवार सर्वोच्च अदालतले सांसद पद बदर गरेपछि लामिछाने सबै पदबाट मुक्त भएका हुन् ।

सर्वोच्चको फैसलापछि उनले सबै पदबाट राजीनामा दिइसकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रीको जिम्मा आफै लिइसकेका छन् । रास्वपाले गृहमन्त्रीमा पुनः दावी गर्ने सम्भावना भने यथावत छ । तर, प्रधानमन्त्री दाहालले उक्त मन्त्रालय नेता शक्ति बस्नेतलाई दिने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement