राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न प्रतिबद्ध छुः मन्त्री पुन

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न प्रतिबद्ध छुः मन्त्री पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । नवनिर्वाचित उर्जा मन्त्री पुनले सरकारको सकारात्मक कार्ययोजनालाई अक्षरशः कार्यान्वयन गर्ने बताउँदै राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्न आफू प्रतिवद्द रहेको बताएका हुन् ।

उनले अस्थिर राजनीतिक प्रणालीका कारण कार्यान्वयन हुन नसकेका कार्ययोजना अब गरेर देखाउने बताएका छन् । उनले भने,‘विगतमा धेरै राम्रा कार्ययोजना बनेका छन् । अस्थिर राजनीतिक प्रणालीका कारण ती कार्ययोजना कार्यान्वयन हुन सकेनन्, अब हामी पाँच वर्ष स्थिर सरकार दिने लक्ष्यका साथ आएका छौँ ।’

उनले आर्थिक समृद्धिको आधार नै ऊर्जा भएको बताउँदै अब पनि काम भएन भन्ने गुनासो गर्ने ठाउँ नभएको र यही मान्यताका आधारमा काम गर्नु जरुरी भएको बताए ।

उनले दोहोरो अंकको आर्थिक वृद्धिका लागि महत्वपूर्ण आधारका रुपमा रहेको ऊर्जा क्षेत्रको विकासका लागि सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर लागू गर्ने समेत मन्त्री पुनले बताए ।

ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले सीमित साधन र स्रोत भए पनि नागरिकको महत्वकांक्षा समेत वृद्धि भएकाले राष्ट्रिय गौरव र महत्वका आयोजनालाई चाँडोभन्दा चाँडो सम्पन्न गर्नुपर्ने दायित्व आफूसँग रहेको बताए ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली थ्री ए जस्ता आयोजना सधैँ समस्याको घेरामा परेको छ । विगतमा भएका कमी कमजोरीबाट पाठ सिक्ने बताउँदै सचिव उपाध्यायले अब समयमै सबै काम सम्पन्न गर्ने बताए ।