रसुवागढी र साञ्जेनको दोस्रो चरणको आइपीओ सोमवारदेखि


काठमाडौं- रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले सोमवारदेखि दोस्रो चरणमा आइपीओ जारी गर्ने भएका छन् । यी दुवै कम्पनीले ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष)का कर्मचारीहरु र संस्थापक संगठित संस्था ( चिलिमे हाइड्रो, नेपाल विद्युत प्राधिकरण, रसुवा जिल्लाका स्थानिय निकाय गाविस र जिविस)का कर्मचारीलाई आइपीओ जारी गर्न लागेका हुन् ।

यसअघि यी दुवै कम्पनीले पहिलो चरणमा फागुन ११ देखि ३० गतेसम्म कर्मचारी सञ्चय कोषमा रकम सञ्चित गर्ने कर्मचारीका लागि आईपीओ विक्री गरिसकेका छन् । पहिलो चरणमा साञ्जेनले ७१ लाख १७ हजार ५ सय कित्ता र रसुवागढीले १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता शेयर विक्री खुला गरेका थिए ।

विक्री प्रबन्धक सिद्वार्थ क्यापिटलले दिएको जानकारी अनुसार रसुवागढीको आईपीओमा १ लाख ८८ हजार आवेदकबाट रू. ६ अर्ब ६९ करोड बराबरको आवेदन परेको छ भने साञ्जेनको आईपीओमा विक्री प्रबन्धक नागरिक लगानी कोषले दिएको जानकारी अनुसार १ लाख ८५ हजार ५ सय ६० जना आवेदकबाट रू. ४ अर्ब २१ करोड ३१ लाख २८ हजार बराबरको आवेदन परेको छ ।

सोमवारदेखि रसुवागढीले कर्मचारी सञ्चय कोषका कर्मचारीहरुलाई ६ लाख ८४ हजार २ सय १० कित्ता र संस्थापक संगठित संस्थाका कर्मचारीहरुलाई २३ लाख ९४ हजार ७ सय ३५ कित्ता आईपीओ जारी गर्नेछ । रसुवागढीको यस आइपीओमा संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुले न्युनतम ५० देखि ५ सय कित्तासम्म र ऋणदाता संस्थाका कर्मचारीहरुले न्युनतम ५० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

त्यस्तै, साञ्जेनले ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष)का कर्मचारीहरुका लागि ३ लाख ६५ हजार कित्ता र संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुका लागि १२ लाख ७७ हजार ५ सय कित्ता साधारण शेयर जारी गर्नेछ । साञ्जेनको आईपीओमा ऋणदाता संस्थाका कर्मचारीले न्युनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म र संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुले न्युनतम ५० देखि अधिकतम ३ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

रसुवागढीको आईपीओमा २०६८ साल मङ्सिर २२ गतेसम्म बहाल रहेका र २०७४ पुस २० गतेसम्म सञ्चयकर्ताको रुपमा रहेका कर्मचारीले आवेदन दिन पाउनेछन् भने साञ्जेनको आईपीओमा २०६८ साल मङ्सिर २२ गतेसम्म बहाल रहेका र २०७४ मङ्सिर २६ गतेसम्म सञ्चयकर्ताको रुपमा थपिएका कर्मचारीहरुले आवेदन दिन पाउने व्यवस्था गरिएको छ । कर्मचारीहरुका लागि मात्र साञ्जेनले ८७ लाख ६० हजार कित्ता र रसुवागढीले १ करोड ६४ लाख २१ हजार ४० कित्ता शेयर विक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएका हुन । अभियान दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement