किन फिर्ता गर्‍यो रास्वपाले एम्बुलेन्स ?


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ । रास्वपाका सभापति रवि लामिछाने चितवन- २ बाट दोस्रो पटक विजयी भएको एकसय दिनका अवसरमा साउन १७ गतेदेखि मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको थियो ।

रास्वपाले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० विपरीत एम्बुलेन्सको रङ परिवर्तन गरेर ‘मोबाइल क्लिनिक’ लेखेको थियो।लामिछानेको सचिवालयले ६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि भनेर मोबाइल क्लिनिक सञ्चालनमा ल्याएको हो ।

तर, एम्बुलेन्सको रङ परिवर्तन गरी नीलो बनाउनुका साथै विशेष सूचना दिने सङ्केतसमेत हटाएर एम्बुलेन्सको प्रचलित मापदण्ड र ऐनका प्रावधान मिचिएपछि आलोचना भइरहेको छ । त्यसपछि रास्वपाले मोबाइल क्लिनिक लेखिएको गाडी मेडिकल कलेजलाई नै फिर्ता गरेको हो ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११ ले आफूखुसी रङ परिवर्तन गर्न दिँदैन। सवारीको किसिम, इन्जिन, च्यासिस, रङ सिट, बडी निर्माण गर्नु परेमा यातायात व्यवस्था विभागबाट अनुमति लिनुपर्ने प्रावधान छ।

सभापति लामिछानेले चितवनमा सञ्चालित ‘मोबाइल क्लिनिक’ सेवा जारी रहने बताएका छन् । मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको पुरानो मेडिकल कलेज भरतपुरको ल्याएको एम्बुलेन्स फिर्ता भएपनि सेवा जारी रहने लामिछानले बताएका हुन् । ‘मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement