राउटेका मुखिया शाहीबाट ओलीलाई काठको बट्टा उपहार


दैलेख – लोपोन्मुख राउटे जातिका मुखिया सूर्यप्रकाश शाहीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई काठको बट्टा उपहार दिएका छन् ।

बैतडीको राकमबाट सुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा दैलेख जिल्लाको गुराँसे गाउँपालिकामा प्रवेश गर्ने क्रममा फूलमालाले स्वागत गर्दै राउटे मुखिया शाहीले आफ्नो समुदायको जीविकोपार्जनका लागि बनाउँदै आएको काठबाट बनेको बट्टा उपहार दिए ।

उपहार ग्रहणपश्चात एमाले अध्यक्ष ओलीले राउटे मुखिया शाहीलाई आफूले लगाएको फूलको माला निकालेर लगाइदिए । राउटे समुदायको अस्तित्व बचाउँदै जीविकोपार्जनमा सहज गर्न, शिक्षा र स्वास्थ्यमा सहज पहुँच पुर्‍याउन नीतिगत र कार्यक्रमका हिसाबले पनि सहयोग गर्न एमाले तयार रहेको अध्यक्ष ओलीले बताए ।

स्वागत कार्यक्रममा आफ्नो समुदायको पुर्ख्यौली पेशा नै संकटमा परेका कारण बाँच्न पनि समस्या भएको भन्दै मुखिया शाहीले एमाले अध्यक्ष ओलीले सहयोग गर्लान् भन्ने लागेर भेट्न आएको बताए । उनले भने, ‘हामी प्रधानमन्त्री केपी ओलीज्यूलाई भेट्न आको (आएको), हामीलाई जंगलमा बस्न समस्या छ । ओलीज्यू काठमाण्डु गया, मुगु रारा गया, सुर्खेत गया, हामीकन पनि मस्तै (धेरै) सहयोग गर्‍या । अब पनि केही सहयोग गरन्ना भनेर भेट्न आयाका (आएका) हौं ।’

अभियानका क्रममा गुराँस पुगेका अध्यक्ष ओलीले गुराँस गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समेत उद्घाटन गरे । कर्णाली प्रदेशका सरकारी कार्यालयमा राखिएको सबैभन्दा ठूलो राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै पूर्व प्रधानमन्त्री ओलीले गुराँसका स्थानीय नागरिकले गरेको स्वागत ग्रहण गरे ।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, पदमा अर्याल, योगेश भट्टराई, लेखराज भट्ट, छविलाल विश्वकर्मा लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement