सर्वदलीय बैठक देखेर रवि लामिछाने दिक्क : ‘साक्षी बस्नुको कुनै अर्थ पनि छैन’


काठमाण्डु – पटक–पटक बस्दा पनि सर्वदलीय बैठक स्थगित र अनिर्णित हुन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सांसद रवि लामिछाने दिक्क भएका छन् ।

मंगलवार बोलाइएको सर्वदलीय बैठकमा सहभागी हुन पुगेर पनि स्थगित भएपछि बाहिरिँदै उनले भने, ‘शीर्ष नेताहरूको बैठकको साक्षी बस्नु भनेको बदनाम हुनु हो ।’

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन सर्वदलीय बैठक बोलाइएको थियो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सञ्चो नभएपछि बैठक स्थगित गरिएको हो । बैठक भोलि बुधवार बिहान बोलाइएको छ ।

सभापति लामिछानेले अगाडि थपे, ‘उहाँहरूले सामान्य कुरालाई पनि लम्बेतान गर्नुहुन्छ, यसको साक्षी बस्नुको कुनै अर्थ पनि छैन । अब टुंग्याउने जिम्मा उहाँहरूलाई नै दिन्छौं । हामी भोलिको बैठकबारे छलफल गर्छाैं ।’

यसअघि सोमवार बसेको सर्वदलीय बैठकले छानबिन समितिको कार्यविधिको मस्यौदा बनाउन कार्यदल बनाएको थियो । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हितराज पाण्डे र नेपाली कांग्रेसबाट रमेश लेखक थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement