काठमाण्डु- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन् ।
लामिछानेले भारत भ्रमणको तेस्रो दिन भारतीय प्रधानमन्त्री मोदीसँग भेट गरेका हुन् । उनीहरूबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भएको हो ।
भेटपछि एक्स लेख्दै मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको उल्लेख गर्दै लेखेका छन्, ‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्णरूपमा समर्थन गर्दछु ।’
प्रधानमन्त्री मोदीसँगको भेटवार्तालगत्तै सभापति लामिछाने बुधबार नै उत्तर प्रदेशको अयोध्या जाने र ऐतिहासिक राममन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ।
यसअघि मंगलबार लामिछानेले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीन, भारतका विदेशमन्त्री एस जयशंकर र गृहमन्त्री अमित साहसँग भेटवार्ता गरेका थिए । उक्त भेटघाटहरूमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबिचको संवाद र सहकार्यका विषयमा छलफल भएको थियो ।
भ्रमणका क्रममा रास्वपा टोलीले भाजपा मुख्यालयमा रहेको अत्याधुनिक मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको थियो।
राजनीतिक संवादपछि आयोजित दिवाभोजमा दिल्लीकी भाजपा नेता रेखा गुप्ता लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। भाजपाले यो अन्तर्क्रियाले दुई दलबीचको सम्बन्धलाई थप गहिरो र लोकतान्त्रिक संवादलाई सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।
पाँच दिने भ्रमणका लागि लामिछानेसहित उनकी श्रीमती निकिता पौडेल, सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहोरा र अविनाश आचार्य (प्रदीप) सोमबार भारत गएका हुन् । लामिछानेसहितको टोली जेठ २२ गते स्वदेश फर्कनेछन् ।





प्रतिक्रिया