काठमाण्डु-चितवनको सहारा चितवन सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध संगठित मुद्दा दर्ता नगरेको रिसमा चितवनका जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलको सरुवा भएको छ ।
लामिछानेसहित २० जनालाई ठगी र १२ जनालाई संगठित अपराधमा चितवन जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता गरिएको थियो । उक्त मुद्दामा प्रहरी प्रतिवेदनले लामिछानेलाई संगठित अपराध र ठगी दुवै मुद्दा लगाउन सुझाव दिएको थियो ।
तर, रविविरुद्ध चितवन जिल्ला अदालतमा मंगलबार सहकारी ठगीमा मात्रै मुद्दा दायर भयो । रविविरुद्ध यो चौथो मुद्दा हो । तर, जिल्ला न्यायाधीवक्ता लुइँटेलले लामिछाने एउटा मात्रै संस्थामा आबद्ध देखिएकोले कानुनले व्याख्या गरेको संगठित अपराधको परिभाषाभित्र उनको अपराध नदेखिने निक्र्यौल गरी ठगीमा मात्रै मुद्दा दर्ता गराएका थिए ।
त्यसबाट आक्रोशित महान्यायाधिवक्ता रमेश बडालले लुइँटेलको सरुवा गरिदिएका हुन् । उनलाई महान्यायाधिवक्ता कार्यालय काठमाडौँ तानिएको छ । महान्यायाधीवक्ता बडालको आदेशमा लुइँटेलको सरुवा गरिएको हो । उनलाई महान्यायाधीवक्ताको कार्यालयमा तान्नेगरि सरुवा गरिएको पत्र मंगलबार नै पठाइएको छ । महान्यायाधिवक्ता सरकारका प्रमुख कानुनी सल्लाहकार मानिन्छन् ।
लुइँटेल काठमाडौँ तानिए लगत्तै बुधबार चितवनमा उच्च सरकारी वकिल कार्यालय बुटवलका उपमहान्यायाधिवक्ता रवि न्यौपाने हाजिर हुँदै छन् । उनलाई बुटवलबाट चितवन पठाउने पनि निर्णय गरिएको छ ।
रविविरुद्ध जसरी पनि सहकारी ठगीसँगै संगठित अपराध मुद्दा चलाउन लुईंटेलमाथि दबाब थियो । तर, संगठित अपराध निवारण ऐनको व्याख्या गरी रविमाथि यो कानुन आकर्षित नहुने सरकारी वकिल कार्यालयको निष्कर्ष थियो ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले चितवनका जिल्ला न्यायाधिवक्ता लुइँटेलको सरुवा भएको पुष्टि गरेका छन् ।
यसअघि काठमाडौं, कास्की र रुपन्देहीमा रविविरुद्ध संगठित अपराधको मुद्दा चलेको थियो । कास्कीमा सम्पत्ति शुद्धीकरणको समेत कसुर लगाइएको छ ।
प्रतिक्रिया