काठमाण्डु- साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा रास्वपा सभापति रवि लामिछाने बयानका लागि चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् ।
साहाराको रकम हिनामिना गरेको अभियोगमा सभापति लामिछानेसहित १५ जनाविरूद्ध चितवन जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता भएको छ । व्यक्तिबाहेक छ वटा संस्थाविरूद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ । यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए ।
मुद्दा दायर भएका कूल ३२ जनामध्ये १२ जनाविरूद्ध ठगी र संगठित अपराधमा र २० जनालाई ठगीमा मुद्दा दर्ता गरिएको हो ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी भएको भनिएको जम्मा रकम ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलव ४७ रुपैयाँ रहेको छ ।
हाल जोहरी परेको रकम ३८ करोड नौ लाख ७९ हजार एक सय ७७ रुपैयाँ क्षतिपूर्ति भराउन मागदाबी गरिएको छ । ५२ करोड रुपैयाँमध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप १४ करोड २३ लाख छ हजार एक सय ३१ दशमलव ४७ रुपैयाँ जाहेरी परेका बखत पुनः पूरक अभियोग जाहेर हुनेगरी अभियोग दाबी गरिएको छ ।
बचतकर्तालाई भराउनुपर्ने क्षतिपूर्ति रकम विभिन्न छ वटा कम्पनीबाट साहारा चितवन बहुउद्देश्यीय सहकारीलाई दिलाउने भराउनुपर्ने रकम ४३ करोड ३२ लाख सात हजार ९२८ दशमलव ७५ रुपैयाँ रहेको छ ।
लामिछानेको हकमा ठगी मुद्दा दर्ता भएको छ तर बिगो दाबी गरिएको छैन ।
यसैबीच लामिछानेको बयानका लागि जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा पेसी तोकिएको छ ।
प्रतिक्रिया