ज्ञानेन्द्रको जन्मदिन मनाउन राजावादी निर्मलनिवासमा, पूर्वराजा भने रिसोर्टतिर


काठमाण्डु- पूर्वराजा ज्ञानेन्द्र शाहको आज ७७औं जन्मदिन रहेको छ । जन्मदिनको अवसरमा राजावादीले शुभकामना दिँदै राजतन्त्रको पुनर्स्थापनाको पक्षमा वकालत गरिरहेका छन् ।

पूर्वराजाको जन्मदिन भव्यताका साथ मनाउन राजावादीले एक समितिनै गठन गरेका छन् । सोही समिति शनिबार पूर्वराजालाई शुभकामना व्यक्त गर्न निर्मल निवास पुगेका थिए । पूर्वराजालाई शुभकामना र अभिनन्दन गर्नका लागि पुगे पनि ज्ञानेन्द्र नभेटिएपछि उनीहरू पूर्वराजाका प्रतिनिधिलाई अभिनन्दन पत्र र पुष्पगुच्छा बुझाएर गेट बाहिरबाटै फर्किएका थिए ।

पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजा निर्मल निवासमा नरहेको बताए । जन्मदिन मनाउनका लागि पूर्वराजा राजधानीकै एक रिसोर्टमा परिवारसहित रहेका छन् ।

बेलुका पूर्वराजाको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै ७७ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । ७ बजेर ७ मिनेट जाँदा निर्मल निवासमै दीप प्रज्वलनको तयारी रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement