ऋचा शर्माको पत्रः प्रधानमन्त्रीज्यू ! मलाई छोरी जन्मिएला भन्ने डर छ


काठमाण्डु – अभिनेत्री ऋचा शर्माले दिनदिनै बालिका बलात्कृत हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको ध्यानआकर्षण गराएकी छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई खुलापत्र लेख्दै नायिका शर्माले समाजमा छोरीहरु दिनदिनै असुरक्षित हुन थालेका आफू चिन्तित भएको बताएकी छन् । उनले बलात्कारीलाई कारबाही गर्ने कडा कानूनको अभाव भएकाले छोरीहरु असुरक्षित हुन थालेको बताएकी छन् ।

‘एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ,। मलाई भोलीको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला कि भन्ने डर लाग्न थालेको छ’, उनले भनेकी छन्, ‘मलाई भोली छोरा पाउन नि डर लाग्न थालेको छ । मैले जति सँस्कार र अनुशासन सिकाउन खोजे पनि, यो देश र यहाँको कानूनले केहि नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ । दिनहुँ स–साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआम हिडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा, एउटा नारी भएको हिजोआज आफैंलाई लाज लाग्न थालेको छ ।’

नायिका शर्माले राष्ट्रपति महिला भएको देशमा छोरीहरु नै असुरक्षित रहेकाले कडा कानूनको खाँचो रहेको बताएकी छन् । उनले बलात्कार गर्नेलाई कारबाही गर्न कानून कार्यान्वयन गर्ने निकायले हल्का रुपमा लिने गरेको गुनासो पनि राखेकी छन् ।

‘जून देशमा नारीलाई पुजिन्छ, जून देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै छौ झै लाग्छ। हामी टेक्नोलॉजीले चाहि विकसित भयौ तर अफसोस सोचले अझै पिछडिएका छौं’, उनले भनेकी छन्, ‘यहाँ बालिकाहरुलाइ समम् खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौ । जनताको नभए पनि एकचोटी परिवारमा छोरी–नातिनीको आँखामा आँखा जुधाई भनि हेर्नुस, की यो देशमा उनीहरु सुरक्षित छन ? म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउदैछन । बाँकी तपाईहरु बुझकी ।’

प्रतिक्रिया दिनुहोस
Advertisement