काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो भन्दै प्रश्न गरेको छ ।सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसकी सांसद रेनुका काउचाले यस्तो प्रश्न गरेकी हुन् ।
प्रधानमन्त्री शाहले पछिल्लो समय सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिप्रति आफ्नो धारणा राख्दै काउचाले मुलुकको हित र सीमा रक्षा जस्ता सकारात्मक कदममा आफूहरु सधै सरकारको साथमा रहने बताएकी छिन् ।
काउचाले प्रधानमन्त्री आफ्नै मन्त्रिमण्डल र दलभित्र पनि समन्वय गर्न नसकेर एक्लो परेको हो कि भन्ने प्रश्न उठाइन् । उनले अन्य दलसँग छलफल गरेर अडाडि बढ्न आग्रह गरिन् ।
कालो चस्मा खोलेर हेर्न आग्रह गर्दै उनले भनिन् ‘कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईँले चाल्ने सही कदममा प्रतिपक्ष तपाईँको साथमा छ। तर विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्यमान्यता, संविधान, संसदीय मर्यादा र अभ्यास तथा संसद्को सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन। गल्ती स्वीकार गर्नु कमजोर होइन, सत्य सच्याउनु नेतृत्वको शक्ति हो। प्रतिपक्ष तपाईँलाई अपमानित गर्दैन, हामी प्रधानमन्त्रीको ओझ घटाउन होइन, अझै बढाउन खोजिरहेका छौँ।’
प्रधानमन्त्रीले संसद्मा उठेका प्रश्नहरूलाई घेराबन्दीको रूपमा बुझ्न नहुने भन्दै उनले थपिन् ‘संसद्ले प्रश्न सोध्नु घेराबन्दी होइन, प्रतिपक्षले जवाफ माग्नु असहयोग होइन र सरकारलाई सचेत गराउनु अपमान होइन,’ काउचाले भनिन्, ‘यो त संसदीय लोकतन्त्रको सुन्दरता र हाम्रो संवैधानिक दायित्व हो ।’




प्रतिक्रिया