दुबईबाट रेशम चौधरीले भने- गद्दार चिनेकाे छु, अब धेरै सहन सक्दिँन


काठमाण्डु- टीकापुर हत्याकाण्डका योजनाकार भनिएका रेशमलाल चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरी दोषी ठहर भएको आदेशसहितको पूर्णपाठ सार्वजनिक गर्दा उनी भने दुबई पुगेका छन्।

दुबईबाटै उनले सामाजिक सञ्‍जाल फेसबुकमार्फत लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सडक,सदन,सरकारको साथै सबै प्रकारको आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका हुन् । “लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ। अब प्रतिवेदन सार्वजनिक नगरे हामी सडक, सदन, सरकारको साथै सबै प्रकारको आन्दोलन गर्न बाध्य हुनेछौं।”, उनले फेसबुकमार्फत भनेका छन् ।

त्यस्तै उनले आफूहरुले धेरै कुरा सहेकोले अब कहिलेसम्म सहने भन्दै प्रश्‍नसमेत गरेका छन्। “सबैकुरा मैले बोल्नैपर्छ भन्‍ने छैन, अन्तरंग सबैकुराले हामीमाथिको व्यबहार पुष्टि गर्छ। हामीले सबैकुरा सह्यौं, सहिराखेकाछौं तर कहिलेसम्म सहने हाम्रो विशुद्ध राजनीतिमा घुसपैठ गराएर अझै पुनः हाम्रै मान्छे प्रयोग गरेर हामीलाई अलग्याउन खोज्‍नु कदापि राम्रो होइन। हामीले हामी भित्रका गद्दार चिनेका छौं तर मुख खोलेका छैनौं, यसको मतलब यो होइन कि हामी अन्जान छौं। समय आए सबै प्रकारको सामना गरिन्छ।”, उनले भने ।

सर्वोच्च अदालतले निर्दोष र निहत्था नागरिकको अकारण सामूहिक हत्या गर्नु राजनीतिक घटना नहुने स्पष्ट पारेको छ । बुधबार रेशमलाल चौधरी लगायतका व्यक्तिहरु प्रतिवादी रहेको टीकापुर घटनाको २३० पृष्ठ लामो पूर्णपाठ सार्वजनिक गर्दै अदालतले आपराधिक घटनालाई राजनीतिक आवरण दिएर अपराध गर्नेलाई राज्यले नै संरक्षण गर्न नहुने स्पष्ट पारेको हो । नागरिक उन्मुक्ति पार्टीका संरक्षकचौधरीमाथिको जन्मकैदमाथि राष्ट्रपति रामचन्द्र पौडेलले गरेको माफी मिनाहालाई सर्वोच्च अदालतले नै गम्भीर प्रश्न उठाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement