जुम्ला – जुम्लामा पछिल्लो समय चिनोखेती गर्ने किसानको संख्या घट्दै गएको छ ।
गाउँगाउँसम्म सडक सञ्जाल विस्तार भई चामल सहज रूपमा उपलब्ध हुन थालेपछि किसानले चिनोखेती गर्न छाड्दै गएका हुन् ।
जिल्लाको तिला, हिमा, सिञ्जा, पातारासी र तातोपानी लगायतका क्षेत्रमा परम्परागत रूपमा चिनोखेती गरिँदै आएको थियो । विगतमा चामलको अभावका कारण जिल्लाका अधिकांश क्षेत्रमा चिनोखेती हुने गरे पनि अहिले गाउँबस्तीसम्मै चामल पुग्न थालेपछि यसको खेती घट्दै गएको तिला गाउँपालिका–१ का अगुवा किसान लालबहादुर बुढाले बताए ।
हिमा, पातारासी, तिला र सिञ्जा गाउँपालिकाका ग्रामीण क्षेत्रमा अझै पनि चिनोखेती हुने गरेको छ । यातायातको पहुँच विस्तारसँगै चामल सहज रूपमा उपलब्ध हुन थालेपछि किसानले बिस्तारै चिनोखेती छाड्दै गएको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।
हराउँदै गएका चिनोलगायत रैथाने बालीको संरक्षण तथा प्रवर्द्धनका लागि गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै आएको अध्यक्ष धितालले जानकारी दिए ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार जिल्लामा पछिल्लो समय रैथाने बालीको खेती गर्ने किसानको संख्या घट्दै गएको छ । रैथाने बालीको खेती गर्ने किसानलाई लक्षित कार्यक्रम सञ्चालन गर्न कार्यालयले चालु आर्थिक वर्षका लागि प्रस्ताव माग गरेको उनले बताए ।
जिल्लामा चिनोको कुल उत्पादन कति हुन्छ भन्ने यकिन तथ्यांक छैन । चालू आर्थिक वर्षदेखि जिल्लामा उत्पादित रैथाने बालीको कुल परिमाणको तथ्यांक संकलन गरिने कृषि विकास कार्यालयले जनाएको छ ।


प्रतिक्रिया