एआईले मानिस होइन, मानिसले एआई चलाउन सक्नुपर्छ : विज्ञ

एआईले मानिस होइन, मानिसले एआई चलाउन सक्नुपर्छ : विज्ञ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विभिन्न क्षेत्रका विज्ञहरूले कृत्रिम बुद्धिमत्ता (एआई) का कारण रोजगारी गुम्ने चिन्ताभन्दा यसको सही प्रयोग गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

डिजिटल मिडिया फाउन्डेसनद्वारा शनिबार राजधानीस्थित होटल हिमालयमा आयोजित ‘नेसनल एआई समिट २०२६’मा सहभागी विज्ञहरूले एआईलाई मानिसको विकल्पका रूपमा नभई कामलाई प्रभावकारी बनाउने उपकरणका रूपमा प्रयोग गर्नुपर्ने बताए ।

उनीहरूले शिक्षा प्रणाली, पाठ्यक्रम र सीप विकासमा समयानुकूल परिवर्तन आवश्यक रहेको पनि औँल्याए ।

एआईको बढ्दो प्रयोगले रोजगारीको स्वरूपमा परिवर्तन ल्याउने भए पनि प्रविधिलाई बुझ्न, प्रयोग गर्न र त्यसबाट प्राप्त नतिजाको मूल्यांकन गर्न सक्ने जनशक्तिका लागि अवसर विस्तार हुने उनीहरूको धारणा थियो ।

जापानको वासेदा विश्वविद्यालयका सहप्राध्यापक डा. विकास लम्सालले एआईमा पूर्ण निर्भर हुनुभन्दा यसको प्रभावकारी प्रयोग र त्यसबाट प्राप्त नतिजाको सत्यता जाँच्न सक्ने क्षमता विकास गर्नुपर्ने बताए ।

एआईले उपलब्ध गराएको सामग्री जस्ताको त्यस्तै प्रयोग गर्ने प्रवृत्तिले रोजगारी जोखिममा पार्न सक्ने भए पनि एआईका गल्ती पहिचान गर्न, नतिजाको विश्लेषण गर्न र अनुसन्धानका जटिल समस्या समाधान गर्न सक्ने जनशक्तिको आवश्यकता कायमै रहने उनको भनाइ थियो ।

‘एआई चलाउन सक्ने क्षमता चाहिन्छ । एआईले दिएको नतिजा जाँच्न र त्यसलाई सही ढंगले प्रयोग गर्न सक्ने क्षमता चाहिन्छ,’ लम्सालले भने, ‘डेभलपरले जस्ताको त्यस्तै कपी–पेस्ट गरेको अवस्थामा चाहिँ जागिर जान सक्छ । एआईको गल्ती पत्ता लगाउन सक्ने मानिसको जागिर जाँदैन ।’

नेपालको शिक्षा प्रणाली र पाठ्यक्रमसमेत समयानुकूल परिवर्तन गर्नुपर्ने उनको सुझाव थियो । एआईको प्रभावकारी प्रयोगका लागि उपयुक्त मार्गदर्शन, पाठ्यक्रम र तालिम आवश्यक रहेको उनले बताए ।

नेपाल र अमेरिकामा कार्यक्षेत्र रहेको सफ्टवेयर कम्पनी एक्वोर एलएलसीका सहसंस्थापक सन्दीप आचार्यले नयाँ प्रविधिको आगमनलाई रोजगारी गुम्ने जोखिमका रूपमा मात्र हेर्न नहुने बताए ।

कम्प्युटर र औद्योगिक प्रविधिको विकाससँगै रोजगारीका स्वरूप परिवर्तन भए पनि त्यसले नयाँ अवसर र सम्भावनाका ढोका खोलेको उनले स्मरण गरे । एआईले चुनौती ल्याउने भए पनि मानिसको सिर्जनात्मक क्षमता र नयाँ कुरा खोज्ने प्रवृत्तिलाई विस्थापित गर्न नसक्ने उनको भनाइ थियो ।

‘हरेक नयाँ चिज आउँछ, त्यसले जागिर जाने होइन, बढाउँछ,’ आचार्यले भने, ‘नयाँ कुरा खोज्ने मान्छे सधैँ सिर्जनशील हुन सक्छ । यसले सिर्जनशीलता घटाउँदैन । चुनौती त ल्याउँछ नै ।’

एआईको प्रयोगले रोजगारीको स्वरूपमा परिवर्तन ल्याए पनि त्यसलाई कसरी उपयोग गरिन्छ भन्ने कुराले भविष्य निर्धारण गर्ने उनले बताए ।

एनएमबी बैंकका प्रमुख सूचना तथा डिजिटल अधिकृत रोशन रेग्मीले एआईको प्रयोग बढ्दै जाँदा कर्मचारी हटाउनेभन्दा उनीहरूलाई नयाँ प्रविधिअनुसार काम गर्न अभ्यस्त बनाउने अभ्यास भइरहेको बताए ।

बैंकिङ क्षेत्रमा ग्राहकको रकम र वित्तीय सुरक्षासँग जोडिएका निर्णय पूर्ण रूपमा एआईको जिम्मा लगाउन सकिने अवस्था नरहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा मानवीय निगरानी र जिम्मेवारी अझै महत्त्वपूर्ण रहने बताए ।

‘जागिर गएको वा जाने होइन, कर्मचारीलाई एआई प्रविधिमा अभ्यस्त बनाउन सिकाउने काम गरिरहेका छौँ,’ रेग्मीले भने, ‘ग्राहकको पैसालाई एआईको भरमा छाड्ने पक्षमा भने हामी छैनौँ ।’

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय तथा सूचना विज्ञान विभागकी प्रमुख डा. लीला न्याइँचाईंले नेपालको विश्वविद्यालय शिक्षा र पाठ्यक्रम एआईको बदलिँदो परिवेशअनुसार परिमार्जन हुन नसकेको बताइन् ।

शिक्षक र विद्यार्थी दुवैले एआई प्रयोग गर्न थाले पनि त्यसको प्रयोगलाई व्यवस्थित गर्ने नीतिगत तथा शैक्षिक व्यवस्था पर्याप्त नभएको उनको भनाइ थियो ।

‘हिजोको पाठ्यक्रमलाई नै निरन्तरता दिइरहेका छौँ । अहिलेका समस्या समाधान गर्ने गरी यसलाई रूपान्तरण गर्नुपर्छ,’ उनले भनिन् ।

विश्वविद्यालयमा पाठ्यक्रम परिवर्तन आवश्यक भए पनि त्यसका लागि विद्यमान प्रक्रियागत तथा प्रशासनिक झन्झट चुनौतीका रूपमा रहेको उनले औँल्याइन् ।

कार्यक्रममा सहजकर्ता रोमनकान्त पाण्डेले एआईको युगमा नेपाली युवाले कस्तो शिक्षा र सीप हासिल गर्नुपर्छ भन्ने प्रश्नलाई बहसको केन्द्रमा राखेका थिए ।

नेपाली युवा प्रविधिका उपभोक्ता मात्र नभई त्यसबाट नयाँ अवसर र आम्दानी सिर्जना गर्न सक्ने जनशक्ति कसरी बन्न सक्छन् भन्ने विषयमा उनले विज्ञहरूसँग छलफल गरेका थिए ।