काठमाण्डु – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा १८ करोड रुपैयाँको चलखेल भएको भन्ने आरोपप्रति प्रश्न उठाएका छन् ।
उनले पैसाको लेनदेन गरेर पार्टीको आधिकारिकता किनिएको भन्ने आशय व्यक्त गर्दै आफूहरूले पैसामा पार्टी नबेच्ने बताएका छन् ।
शनिबार काठमाण्डुको राष्ट्रिय सभागृहमा देउवा पक्षले आयोजना गरेको काठमाण्डु जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको बयान र अडियोमा १८ करोड रुपैयाँको प्रसंग आएको उल्लेख गरे ।
‘इनम सापकोटाले १८ करोड भनेको छ। बा, सानो पैसा हो त्यो ? त्यो पैसा दिएर पार्टी किनिदियो। अब पैसामा पार्टी बेच्ने हामीले ?’ देउवाले प्रश्न गरे ।
उनले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगका तत्कालीन पदाधिकारीको भूमिकामाथि पनि प्रश्न उठाए ।
तत्कालीन कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आफ्नो ज्यानको सुरक्षाका कारण निर्णय दिएको भन्ने कुरा सञ्चारमाध्यमबाट थाहा पाएको उनले बताए ।
‘उसबेला निर्वाचन आयोगमा पनि मुद्दा हालेका थियौँ। बाहिर समाचारमा आएको थियो, मेरो ज्यानको खतरा भएको कारणले मैले दिएको भनेर प्रमुख आयुक्तले बोलेका पनि छन्,’ देउवाले भने ।
उनले तत्कालीन आयुक्त जानकी तुलाधरको भूमिकाबारे पनि टिप्पणी गरे । तुलाधर नडराएको तर अर्को पदाधिकारी डराएको उल्लेख गर्दै देउवाले निर्वाचन आयोगको निर्णय प्रक्रियामा आर्थिक लेनदेन भएको हुन सक्ने आशय व्यक्त गरे ।
देउवाले आफू अझै पनि नेपाली कांग्रेसको सभापति रहेको दाबी गर्दै पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको बताए ।
आफू विदेशमा रहेका बेला विशेष महाधिवेशन आयोजना गरिएको र आफूलाई सभापति पदबाट हटाइएको औपचारिक निर्णयसमेत नभएको उनको भनाइ थियो ।
‘म विदेश भएको समयमा यता विशेष महाधिवेशन भयो । पार्टी सभापति म छु, मलाई निकालेको पनि छैन, मैले महाधिवेशन गराएको पनि छैन । त्यसैकारणले हामीले अदालतमा मुद्दा हालेका हौँ,’ उनले भने ।
कांग्रेसको नेतृत्व र आधिकारिकतासम्बन्धी विवादमा देउवा पक्ष र गगन थापा नेतृत्वको पक्षबीच मतभेद जारी छ । देउवाले १८ करोड रुपैयाँको प्रसंग उठाउँदै निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि समेत प्रश्न गरेपछि विवादले थप चर्चा पाएको छ ।


प्रतिक्रिया