गगनमाथि कटाक्ष : ‘ओलीको खुट्टा ढोग्न जानुभयो, देउवालाई भेटेको भए आशीर्वाद पाउनुहुन्थ्यो’

गगनमाथि कटाक्ष : ‘ओलीको खुट्टा ढोग्न जानुभयो, देउवालाई भेटेको भए आशीर्वाद पाउनुहुन्थ्यो’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगनकुमार थापामाथि कटाक्ष गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको खुट्टा ढोग्न गएको बताएका छन् ।

शेरबहादुर देउवा समूहको काठमाण्डु जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले थापाले पूर्वसभापति शेरबहादुर देउवालाई भेट्न गएको भए आशीर्वाद पाउने टिप्पणी गरे ।

‘गगनजी केपी ओलीजीका खुट्टा ढोग्न गएको मान्छे, शेरबहादुर देउवाजीलाई ढोग्न आएको भए त आशीर्वाद पाउँथ्यो नि ! गएन। अब अहिले प्रचण्डले उहाँलाई बचाउने ? हेर्नुस् यहाँ जात्रा,’ उनले भने ।

बस्नेतले देउवा नेतृत्वको कांग्रेसलाई कसैले कमजोर ठान्ने वा हेप्ने प्रयास गरे प्रतिकारमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।

उनले १ वर्षभित्र कांग्रेसले आफ्नो शक्ति देखाउने दाबी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई धैर्य, साहस र बुद्धि प्रयोग गर्न आग्रह गरे ।

‘हाम्रा नेताहरू यत्रो लामो समय जेल बसे, देशका लागि दु:ख गरे। हामी अलिकति थाम्न सक्दैनौँ ? धैर्य गर्न सक्दैनौँ ? भिड्न सक्दैनौँ ?’ उनले प्रश्न गरे ।

उनले थपे, ‘जोसँग तागत छ, त्यो तागत हुने मान्छे भिडेन भने त्यो तागत के काम ? जोसँग बुद्धि छ, उसले बुद्धि प्रयोग गर्दैन भने के काम ? जोसँग साहस छ, ऊ लाग्नुपर्‍यो ।’

बस्नेतले गगन थापामाथि नेपाली कांग्रेसलाई कमजोर बनाएको आरोप पनि लगाए । देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवामाथि आक्रमण हुँदा नेविसंघ र तरुण दलका नेतृत्वले फोन बन्द गरेर बसेको भन्दै उनले असन्तुष्टि जनाए ।

उनले त्यस्तो नेतृत्व आफूहरूलाई आवश्यक नरहेको बताए । बस्नेतले गगन थापाले १८ करोड रुपैयाँ खर्च गरेर नेपाली कांग्रेसको चुनाव चिह्न रुख कब्जा गरेको जिकिरसमेत गरे । पार्टीको चुनाव चिह्न र नेतृत्वमाथि भएको विवादलाई लक्षित गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।