‘राइड थ्रु सिन्धुलीगढी’को उद्धाटन पर्यटनमन्त्रीले गर्ने


काठमाडौं – संस्कृति, पर्यटन तथा नागिरक मन्त्री योगेश भट्टराईले साइकल यात्राको उद्धाटन गर्ने भएका छन् । मंसिर ६ गते शुक्रबार देखि ९ गतेसम्म ४ दिन हुने ‘राइड थ्रु सिन्धुलीगढी’ साइकल यात्राको उद्धाटन पर्यटनमन्त्री भट्टराईले पशुपति मन्दिर परिसरबाट गर्ने भएका ‘राइड थ्रु सिन्धुलीगढी’की संयोजक दीपिका ज्ञवालीले जानकारी दिइन् ।

समृद्ध सिन्धुली अभियानले हरेक वर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस वर्ष १८ जना महिला र १४८ जना पुरुष गरेर कुल १६७ जना साइकलयात्री र सहयोगीसँगै २०४ जनाको सहभागिता रहनेछ ।

यस वर्ष संयुक्त राष्ट्र संघ र ब्रिटिस काउन्सिलले महिला साइकलयात्रीलाई प्रायोजन गरेकाले महिलाको संख्या उल्लेख्य भएको हो । संयुक्त राष्ट्र संघले १० जना र ब्रिटिस काउन्सिलले ५ जना महिला यात्रीको सम्पूर्ण खर्च बेहोर्ने भएको समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले जानकारी दिए ।

समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न चार वर्षदेखि ‘राइड थ्रु सिन्धुलीगढी’आयोजना गर्दै आएको छ । ‘राइड थ्रु सिन्धुलीगढी’लाई ब्राण्डिङ गरेर विदेशीलाई समेत सहभागी गराउने गरी साइकल यात्रा थालिएको घिमिरेले बताए ।

यस वर्ष संयुक्त राष्ट्र संघ, ब्रिटिस काउन्सिल जस्ता अन्तराष्ट्रिय संस्था हाम्रो साइकलयात्रासँग जोडिएका छन् । आयोजक समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले भने, ‘हाम्रो साइकलयात्राले अन्तराष्ट्रिय पहिचान पाएको छ । यो नेपालीहरुका लागि गौरवको कुरा हो ।’

‘राइड थ्रु सिन्धुलीगढी’ साइकल यात्रालाई विश्व साइकलयात्री पुस्कर शाह र यात्री देवेन्द्र बस्नेतले नेतृत्व गर्नेछन् । अभियन्ता हरिकृष्ण श्रेष्ठका अनुसार काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु हुने साइकल यात्रालाई बाटोमा पर्ने भक्तपुर, काभ्रे, सिन्धुली, महोत्तरी र धनुषा जिल्लाका स्थानीय तह, संघ संस्था, सेना, प्रहरी, विद्यालयहरुले साइकल यात्रीलाई खाजा, पानी, स्वास्थ्य शिविरलगायतको ब्यवस्था गरेर भब्य स्वागत गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement