मध्यपहाडी लोकमार्ग अवरुद्ध, दिक्तेल बजारमा लाखौंको क्षति

मध्यपहाडी लोकमार्ग अवरुद्ध, दिक्तेल बजारमा लाखौंको क्षति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ – अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले खोटाङमा लाखौंको क्षति भएको छ भने मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

बुधबार दिउँसोदेखि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको हो ।

अविरल वर्षापछि आएको बाढी तथा पहिरोले अर्खौलेको नागी, मुढे, भालुखोला लगायत विभिन्न ठाउँमा ठूलो क्षति गरेको प्रत्यक्षदर्शीले बताएका छन् । मध्यपहाडी लोकमार्गमा गएको बाढी तथा पहिरो पन्छाउन सम्बन्धित स्थानीय तह तथा सडक विभागको स्काभेटर र जेसीबी प्रयोग गरिएको छ ।

जिल्लामा अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउन केही समय लाग्ने जनाइएको छ । दिक्तेल–हलेसी सडकखण्डको नागीमा गएको पहिरो करिब पाँच सय मिटर फराकिलो भएकाले खुलाउन समय लाग्ने हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

भालुखोलामा पहिरो खसेर दिक्तेल–चखेवाभञ्ज्याङ सडक अवरुद्ध हुँदा शव पनि अलपत्र परेको छ । भुन्डिएर आत्महत्या गरेकी साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी १ महिलाको शव दाहसंस्कारका लागि घर फर्काउने क्रममा रोकिएको हो ।

बाढी तथा पहिरोका कारण मध्यपहाडी लोकमार्गका सडकहरु अवरुद्ध हुँदा यात्रुहरुबीच सडकमै अलपत्र परेका छन् । जिल्लामा विकासका नाममा विना मापदण्ड जथाभावी सडक निर्माण गर्दा आफूहरुले बर्सेनि बाढी तथा पहिरोको क्षति व्यहोर्नुपरेको स्थानीय वासिन्दाले गुनासो गरेका छन् ।

दिक्तेल–हलेसी सडकमा पर्ने खहरेखोला थुनिएर बस्तीमा बाढी छिर्दा दिक्तेलबजारस्थित किराँत चोकका होटल तथा पसलमा क्षति पुगेको छ । लगातारको वर्षाका कारण दिक्तेल र बाम्राङको सिमानामा रहेको खहरेखोला थुनिएर बाढी आउँदा दिक्तेलको किरातचोक आसपासका घर तथा पसलमा क्षति पुगेको हो ।

मध्यपहाडी लोकमार्गले बनाएको नाली थुनिएपछि खहरेखोलामा आएको बाढी सिधै बजारमा छिरेको थियो । बस्तीमा छिरेको बाढीले किरातचोकमा सञ्चालित चोलुङ होटललगायत होटल तथा पसलमा लाखौंको क्षति गरेको छ । होटल तथा पसलमा बिक्रीका लागि राखिएका लाखौं मूल्यका सामानहरू पानीले काम नै नलाग्ने गरी भिजेका छन् । पहिरोले किरातचोकस्थित इकिमा इन्टरप्राइजेजद्वारा सञ्चालित होन्डा शोरुम समेत हिलाम्मे भएको छ । पहिरोले शोरुमा राखिएका १५ लाखभन्दा बढीको सामानमा क्षति भएको सञ्चालक किरणजित राईले बताए । घरभन्दा माथिबाट झरेको पहिरोले शोरुमभन्दा पछाडिपट्टि रहेको कुखुरा फार्म समेत पुरिएको छ ।