काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाण्डुको तारकेश्वर नगरपालिका–७ बस्ने उदयपुर रौतामाई गाउँपालिका–४ घर भएका ४५ वर्षीय राम बहादुर आले मगर, काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–६ बस्ने सिराहाको लहान नगरपालिका–६ घर भएका ३२ वर्षीय आशिष कार्की, काठमाण्डुको टोखा नगरपालिका–४ बस्ने ७९ वर्षीय लोकबहादुर श्रेष्ठ, टोखा नगरपालिका–३ बस्ने ४१ वर्षीया तुलसा पुन मगर, काठमाण्डु महानगरपालिका–२९ बस्ने पाल्पाको तानसेन नगरपालिका–७ घर भएका ४८ वर्षीय कृष्णप्रसाद पोखरेल र काठमाण्डुको चन्द्रागिरी नगरपालिका–११ बस्ने २९ वर्षीय प्रबिन श्रेष्ठ रहेका छन् ।
पक्राउ परेकामध्ये राम बहादुरले क्यानडा पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३९ लाख ५८ हजार रूपैयाँ, आशिषले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १३ लाख रूपैयाँ, लोक बहादुरले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १९ लाख रूपैयाँ, तुलसाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, कृष्ण प्रसादले यूएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ र प्रबिनले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले रामबहादुरलाई काठमाण्डुको तारकेश्वर नगरपालिका–८ बाट, आशिषलाई काठमाण्डु महानगरपालिका–१२ बाट, लोक बहादुरलाई काठमाण्डुको टोखा नगरपालिका–४ बाट, तुलसालाई टोखा नगरपालिका–३ बाट तथा कृष्ण प्रसादलाई काठमाण्डु महानगरपालिका–१० बाट मंगलबार र प्रबिनलाई चन्द्रागिरी नगरपालिका–११ बाट बुधबार पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये राम बहादुर र आशिषलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डु पठाइएको छ भने लोक बहादुर, तुलसा, कृष्ण प्रसाद र प्रबिनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।




प्रतिक्रिया