मेस्सीपछि रोनाल्डोले पनि गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

मेस्सीपछि रोनाल्डोले पनि गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन्। पछिल्लो समय राष्ट्रिय टीमका प्रशिक्षक र अन्य खेलाडीसँगको विवादले गम्भीर रुप लिएसँगै ४१ वर्षीय उनले पोर्चुगलबाट विश्रामको घोषणा गरेका हुन्।

४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि २३ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरपछि राष्ट्रिय टोलीको जर्सी हस्तान्तरण गर्ने समय आएको बताएका छन्।

उनले सन् २००३ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। त्यसयता उनले पोर्चुगलका लागि २३४ खेल खेल्दै १४६ गोल गरेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा खेल संख्या र गोल दुवैको विश्व कीर्तिमान रोनाल्डोकै नाममा छ।

रोनाल्डोले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै राष्ट्रिय टोलीको सात नम्बर जर्सी अब नयाँ पुस्तालाई सुम्पिने बताएका हुन्।

‘पोर्चुगलका जनताका लागि राष्ट्रिय टोलीको सात नम्बर जर्सी हस्तान्तरण गर्ने दिन आएको छ,’ उनले भनेका छन्, ‘यो जर्सी कहिल्यै मेरो मात्रै हो भन्ने लागेन। तर २३ वर्षसम्म यसलाई लगाउने, रक्षा गर्ने र विश्वभरका रंगशालामा लिएर जाने सौभाग्य र जिम्मेवारी मैले पाएँ।’

उनले संन्यासको निर्णय सहज नभएको पनि बताएका छन्। ‘यो सजिलो निर्णय थिएन, किनकि केही निर्णय दिमागले मात्रै होइन, मनले पनि गर्छ। सन् २००३ को अगस्टमा सुरु भएको यात्राले मेरो जीवन सधैँका लागि बदल्यो। अब त्यो यात्रा अन्त्य भएको छ,’ उनले भनेका छन्।

रोनाल्डोले गत महिना डेनमार्कविरुद्धको नेसन्स लिग खेलमा सुरुआती टोलीमा स्थान नपाउने भएपछि पोर्चुगलको प्रशिक्षण शिविर छाडेका थिए।

२३ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरमा रोनाल्डोले पोर्चुगललाई सन् २०१६ को युरो कप र सन् २०१९ को यूईएफए नेसन्स लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

यसअघि उनका समकालीन प्रतिस्पर्धी अर्जेन्टाइन स्टार लियोनेल मेस्सीले पनि १५ भदौमा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका छन्।

अर्जेन्टिनी महान् फुटबलर मेस्सीले २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल करियरबाट संन्यास घोषणा गरेका थिए । ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट २१ वर्षसम्म उत्कृष्ट प्रदर्शन गरेका थिए।

उनको नेतृत्वमा अर्जेन्टिनाले सन् २०२२ मा कतारमा भएको फिफा विश्वकपको उपाधि जितेको थियो। त्यस्तै दुई पटक कोपा अमेरिका पनि उचालिसकेको थियो ।