काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश सरकारमा नयाँ मुख्यमन्त्री नियुक्तको गणितीय खेलमा सहभागी नहुने भएको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकार बनाउन खेलमा सहभागी नहुने निर्णय गरेको छ ।
वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरिएको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मिलेर प्रदेशमा सरकार गठन गर्नुपर्ने राप्रपाको धारणा रहेको उनले बताए । प्रदेश सरकार बनाउन नेकपा एमाले र नेकपाले नयाँ गठबन्धन बनाएका छन् ।
अध्यक्ष लिङ्देनले भने, ‘केही प्रदेशहरूमा सरकार फेरबदलका सन्दर्भमा पनि छलफल गरेका छौं, यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी सामेल छैन र त्यसप्रकारको गतिविधिमा राप्रपा लालायित पनि छैन । राप्रपा मूलत: प्रदेश सरकारहरू कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीहरू मिलेरै बनाउन भन्ने धारणा राख्दछ ।’
उनले राप्रपाले नै निर्णय गर्ने अवस्था आए उपयुक्त समयमा उपयुक्त निर्णय लिइने जानकारी दिए । उनले भने, ‘उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्षलाई दिने भन्ने टुंगो लागेको छ ।’
पछिल्लो समय कांग्रेस र नेकपा एमालेको सत्ता गठबन्धन भत्किएर कम्युनिष्ट दलबिच नयाँ गठबन्धन बनेको छ ।




प्रतिक्रिया