राप्रपामा नेतृत्वको लडाइँ जिल्लासम्मै, लोहनी-थापाको काउण्टरमा लिङ्देनले खटाए खुश्बुको टोली

राप्रपामा नेतृत्वको लडाइँ जिल्लासम्मै, लोहनी-थापाको काउण्टरमा लिङ्देनले खटाए खुश्बुको टोली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वपञ्चहरूको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आसन्न महाधिवेशनलाई लिएर बढेको अस्वस्थ प्रतिस्पर्धा जिल्ला दौडाहामा पनि देखिन थालेको छ ।

असन्तुष्ट पक्षका नेताहरू पूर्वअध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र कमल थापा तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले मधेस तथा पूर्वी नेपालका जिल्लामा पुगेर पार्टी नेतृत्वमाथि प्रश्न उठाए। जिल्लामा उत्रिएर चुनौती दिएपछि अध्यक्ष राजेन्द्र लिङ्देन पक्षले त्यसको ‘काउण्टर’मा दोस्रो पुस्ताका नेताहरूलाई मैदानमा उतार्न लागेको छ ।

लिङ्देननिकट युवा नेताहरूसहित संसदीय दलकी प्रमुख सचेतक खुश्बु ओली नेतृत्वमा चारदिने तराई-मधेस यात्रामा निस्कन लागेका हुन् ।

मंसिर १ देखि ४ गतेसम्म हुने भ्रमणमा टोलीले मधेसका आठ जिल्लामा पुगेर स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट र अन्तरक्रिया गर्नेछ ।

यो भ्रमणलाई पुराना पुस्ताका नेताहरूले मधेसमा उठाएका प्रश्न र लगाएका आरोपको प्रतिवाद गर्ने लिङ्देन पक्षको प्रयासका रूपमा हेरिएको छ ।

पुराना नेताहरूको भ्रमणपछि मधेसमा उत्पन्न भ्रम चिर्ने र उनीहरूले उठाएका प्रश्नको जवाफ दिने उद्देश्यले लिङदेनले नयाँ पुस्ताका नेता खटाएका हुन् ।

टोलीले पार्टीको नीति, विचार र सिद्धान्तबारे स्पष्ट पार्नुका साथै राष्ट्रिय राजनीतिमा राप्रपाको भूमिका र औचित्यबारे छलफल गर्ने जनाएको छ ।

ओलीको नेतृत्वको टोलीमा उद्धवराज भेटुवाल, विभत्सु थापा, आनन्द अधिकारी, पूर्ण चन्द र प्रेम फुयाललगायत नेता छन् ।

टोलीले मंसिर १ गते सप्तरी र सिराहा, २ गते धनुषा र महोत्तरी, ३ गते सर्लाही र रौतहट तथा ४ गते बारा र पर्सामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यतालिका छ ।

अघिल्लो पुस्ताका नेताहरूले पार्टीको बलियो जनाधार रहेको मधेसमा संगठन कमजोर हुनुमा वर्तमान नेतृत्वको कार्यशैली जिम्मेवार रहेको असन्तुष्टि जनाएका थिए । उनीहरूले पार्टीलाई पुनः सक्रिय र सुदृढ बनाउनुपर्ने भन्दै कार्यकर्तामाझ नेतृत्व परिवर्तनको एजेण्डा राखेका थिए ।

डा. लोहनी, थापा र पाण्डेसहितका नेताहरूले कात्तिक ११ गते पर्साको वीरगञ्जबाट जिल्ला भ्रमण सुरु गरेका थिए । कात्तिक १६ गते अध्यक्ष लिङदेनको गृहजिल्ला झापामा पुगेर भ्रमण समापन गरिएको थियो ।

उनीहरूले पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ हुँदै झापासम्मका जिल्लामा नेता तथा कार्यकर्तासँग भेटघाट गरेका थिए ।

पार्टी संगठन सुदृढीकरण, समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रिय राजनीतिमा राप्रपाको भूमिका र आसन्न स्थानीय तह निर्वाचनको तयारीका लागि दौडाहा गरिएको भनिए पनि त्यसको उद्धेश्य लिङदेनविरोधी कित्तालाई बलियो बनाउनु थियो ।

भ्रमणका क्रममा नेताहरुले वर्तमान नेतृत्वको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका थिए ।

लिङ्देनले पार्टी एकलौटी ढंगले सञ्चालन गरेको, संगठन विस्तारमा अपेक्षित काम गर्न नसकेको र कार्यकर्तामाझ पुग्ने अभियान अघि नबढाएको भन्दै असन्तुष्ट पक्षका नेताहरूले आलोचना गरेका थिए ।

अध्यक्ष लिङदेननिकट नेता एवम् पार्टी प्रवक्ता मोहन श्रेष्ठले ओली नेतृत्वको टोली नेताहरुलाई काउण्टर गर्न नभई महाविधेशनको तयारीका लागि मधेस जान लागेको दाबी गरे ।

ओली आसन्न महाधिवेशनमा महत्वपूर्ण पदका लागि आकांक्षी रहेको र त्यसैको तयारीका लागि कार्यकर्तामाझ जान लागेको उनको भनाइ छ ।

‘महाधिवेशनमा विभिन्न नेताको विभिन्न पदमा आकांक्षा हुन्छ । खुश्बु ओली पनि महत्वपूर्ण पदका लागि आकांक्षी हुनुहुन्छ’, उनले भने, ‘नेताहरू कार्यकर्तामाझ जान लागेको विषयलाई काउण्टरका रुपमा बुझ्नु गलत हुन्छ ।’

श्रेष्ठका अनुसार महामन्त्री राजेन्द्र गुरुङको नेतृत्वमा अर्को एक टोली गण्डकी प्रदेश जाँदैछ ।

श्रेष्ठले पार्टीभित्र स्वच्छ र मित्रवत प्रतिस्पर्धा गर्ने छुट सबैलाई भए पनि आफू अग्लो देखिन अरुलाई होचो बनाउन खोज्ने प्रवृत्ति सह्य नभएको उल्लेख गरे ।

अर्का एक नेताले भने लिङदेनले थापा, लोहनी र पाण्डेको ‘काउण्टर’कै लागि युवा नेताहरूलाई विभिन्न प्रदेशमा पठाउन लागेको बताए । उनले कमल थापा र प्रकाशचन्द्र लोहनी गणतन्त्रवादी भएको समेत आरोप लगाए ।

‘उहाँहरू राजेन्द्र लिङदेनले एकलौटी गरेको आरोप लगाउनुहुन्छ । लिङदेनले राजसंस्थको पक्षमा एकलौटी गरेको हौ’, ती नेताले काठमाण्डुपाटीसँग भने, ‘कार्यकर्ताका उहाँहरूमाथि पनि धेरै प्रश्न छन्, त्यसको सामना गर्नुपर्छ । कमल थापाले राजसंस्था छाडेर गणतन्त्रतिर लागेँ भन्ने चाहिँ ठीक हो त ? ०६५ सालमा गणतन्त्रको प्रस्तावकमध्ये एक डा. लोहनी हुनुहुन्थ्यो । अहिले उहाँहरूले लिङ्देनभन्दा बढी राजावादी बन्न खोजेर कार्यकर्ताले पत्याउँछन् र ?’

यस्तै विक्रम पाण्डेले गत २१ फागुनको निर्वाचनमा चितवन–२ का लागि टिकट लिएर गए पनि उम्मेदवारी नदिएको आरोप उनले लगाए ।

‘पार्टीको टिकट गोजीमा राखेर मनोनयन नगर्ने आफू, अनि अहिले आएर पार्टीले चुनाव हारेको जिम्मेवारीको भारी लिङ्देन एक्लैले बोक्नुपर्छ भन्नु नैतिक कुरा हो ?’, ती नेताले भने ।