काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का तर्फबाट पुष्पकमल दाहाल नेतृत्वमा सरकारमा सहभागी भएका मन्त्रीहरूले सरकारले उपलब्ध गराएको मन्त्री निवास छोडेका छन् । उनीहरूले प्रधानमन्त्री पदमुक्त नहुँदै र आफूहरूले पदबाट राजीनामा नदिइ मन्त्री निवास छोडेका हुन् ।
रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधानमन्त्रीतथा गृह, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद, डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा र सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधिमन्त्री छन् । उनीहरू सबैले मन्त्री निवास छोड्न लागेको बताएका छन् ।
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मन्त्री निवास छोडेको र अन्य तीन मन्त्रीले भोलिसम्म छोडिसक्ने मन्त्री निवासको व्यवस्थापन गर्दै आएको सहरी विकास मन्त्रालय अन्तर्गतको कार्यालयले जानकारी दियो । उनीहरूले आफ्ना व्यक्तिगत सामान सार्न सुरु गरिसकेको कार्यालयले जानकारी दिएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेबाहेक अरु मन्त्री अत्यावश्यक काम बाहेक मन्त्रालय जान छाडेका छन् । खेलकुदमन्त्री श्रेष्ठले आफू त शुक्रबारबाट नै मन्त्रालय जान छोडेको जानकारी दिए ।
नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ गठबन्धन बनाउने निर्णय गरेपछि दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ । दाहालले २८ असारमा विश्वासको मत लिने निर्णय गरेका छन् । उनलाई दिएको समर्थन फिर्ता नलिएको र सरकारलाई दिएको समर्थन फिर्ता नलिएको रास्वपाका मन्त्रीहरूले मन्त्रीनिवास छोड्न लागेका हुन् ।
प्रतिक्रिया