काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरूका लागि योग्यताको मापदण्ड तोकेको छ ।
आईतबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले उम्मेदवार छनोटदेखि भूमिहीन समस्या र महाधिवेशनसम्मका विविध विषयमा निर्णयहरू गरेको छ ।
रास्वपाले ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा–२०८३’ पारित गर्दै अब पहुँच वा भनसुनका आधारमा टिकट नदिने प्रष्ट पारेको छ । उम्मेदवार बन्न चाहनेले पार्टीको क्यान्डिडेट क्लब र लिडरशिप एकेडेमी अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्नेछ । यस प्रक्रियाको समन्वय र कार्यान्वयनका लागि सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा विशेष समिति समेत गठन गरिएको छ ।
बैठकले काठमाण्डु उपत्यकासहित देशैभरको अव्यवस्थित बसोबास समस्या सुल्झाउन रास्वपाले सरकारलाई अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सुझाव दिएको छ । खोला किनारका वास्तविक सुकुम्बासीलाई आगामी चैत मसान्तभित्र सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने पार्टीको निष्कर्ष छ ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार प्राधिकरणको प्रतिवेदन नआएसम्म वास्तविक भूमिहीनमाथि कुनै कारबाही नगर्न र विकल्पविना स्थानीय सरकारले चलाउने डोजर तत्काल रोक्न पार्टीले ध्यानाकर्षण गराएको छ ।
पार्टीको ऐतिहासिक प्रथम महाधिवेशन सम्पन्न गर्न ‘महाधिवेशन कार्यविधि–२०८३’ पारित गरिएको छ । महाधिवेशनको मिति र स्थान भने पछि तय गरिनेछ । बैठकले संसदीय दलको संशोधित विधानलाई अनुमोदन गर्नुका साथै बागमती प्रदेश समितिको सिफारिसमा रसुवा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ । रसुवामा अब नयाँ प्रक्रियाबाट जिल्ला समिति पुनर्गठन गरिने जनाइएको छ ।




प्रतिक्रिया