काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश महामन्त्री पारस बाहुन बर्खास्तीमा परेका छन् । सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्रदेश महामन्त्री बाहुनलाई जिम्मेवारीबाट हटाएका हुन् ।
‘पछिल्लो समयमा संगठन र नेतृत्वलाई असहज, असफल बनाउने विविध क्रियाकलाप गर्नुभएको हुँदा सोबारे स्पष्टीकरण सोधिएकोमा उक्त स्पष्टीकरणको जवाफ सन्तोषजनक नभएकाले राष्ट्रिय स्वतन्त्र पार्टीको विधानअनुसार महामन्त्री पदबाट मुक्त गरिएको छ,’ विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
२०८० मंसिर १३ गते महामन्त्री नियुक्त भएका बाहुनलाई २०८१ भदौ १० गते स्पष्टीकरण सोधिएको थियो । बाहुनले स्पष्टीकरणको जवाफमा प्रदेश सभापति विष्टले व्यक्तिगत सम्बन्धलाई लिएर कारबाही गर्न खोजेको बताएका थिए ।
सुदूरपश्चिममा प्रदेश सभापति विष्टको कुरामा विमति राख्नेलाई पेल्ने र हटाउने कार्य हुँदै आएको पनि बाहुनले स्पष्टीकरणमा उल्लेख गरेका थिए ।
प्रतिक्रिया