स्वास्थ्य अनुसन्धान परिषद्ले डा. रूना झासहित ६ जनालाई स्पष्टिकरण सोध्यो


काठमाडौं – राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले अनुमतिबिनै पहिलो कोरोनाभाइरस संक्रमितको जीन अनुसन्धान गर्न दिएको भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रूना झासहित ६ जनासँग स्पष्टिकरण मागेको छ ।

परिषद्ले डा. झा, प्रयोगशालाका डा. रञ्जित साह, हेमन्त ओझा, रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डे, पूर्व निर्देशक विवेकलाल कर्ण र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक अनुप बाँस्तोलालाई स्पष्टिकरण सोधेको हो ।

स्रोतकाअनुसार उनीहरुले परिषद्को अनुमति नलिई स्याम्पल अनुसन्धान गर्न दिएको भन्दै स्पष्टीकरण सोधिएको हो । उनीहरुलाई वैशाख २९ गते स्पष्टकिरण सोधिएको हो । परिषद्ले एक हप्ताभित्र लिखित जवाफ दिन निर्देशन दिएको छ ।

६ जना नेपालीसहित ८ जना विदेशीले नेपालको पहिलो कोरोना संक्रमित व्यक्तिको जीनबारे अनुसन्धान गरेको रिपोर्ट अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजी जर्नलमा प्रकाशित छ ।

नेपाल स्वास्थ्य परिषद् ऐन २०४७ को दफा ११ (१) बमोजिम मानव सम्बन्धी अध्ययन् वा अनुसन्धान गर्न परिषद्को अनिवार्य स्वीकृति लिनुपर्ने भन्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement