रुपन्देहीको तिनाउखोलामा युवती मृत फेला


बुटवल – रुपन्देहीको तिलोत्तमा-३ स्थित तिनाउखोलामा एक युवती मृत फेला परेकी छन् । पश्चिम नवलपरासीको सुनवल-२ की अस्मिता पटवार शर्माको शव नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

वैशाख २६ गते शर्मा थरका युवकसँग मागी विवाह भई तिलोत्तमा आएकी अस्मिता आइतबार बिहान तिलोत्तमा ६, पश्चिम पहुनीस्थित तिनाउखोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । आइतबार दिउँसो साढे १ बजेतिर उनको शव फेला परेको हाे । मृतक अस्मिताका श्रीमान् कामका सिलसिलामा भारत गएका छन् ।

अस्मिता सम्पर्क बिहीन भएपछि घरपरिवारले माइती पक्षलाई शनिबार दिउँसै जानकारी दिएको थियो। घर र माइती दुवैतर्फबाट प्रहरीलाई खोजी गरिदिन आग्रह गरेका थिए। घटना थाहा पाएपछि खोजी गर्दै जाँदा आइतबार दिउँसो अस्मिताको शव फेला परेको प्रहरीले जनाएको छ।

माइती पक्षले हराएको छोरीको शव उठाउने बेलामा आफूलाई नबोलाएको भन्दै घटना शंकास्पद रहेको हुनसक्ने आरोप लगाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement