रुस-युक्रेन युद्धको २०औं दिन : अहिलेसम्म के-के भयो ?


एजेन्सी – युक्रेन र रुसबीच युद्ध सुरु भएको आज २० औं दिन पुगेको छ । युक्रेनमाथि रुसले हमला गरेसँगै सर्बसाधारण युक्रेनीको जीवन कस्टकर बनेको छ । तर युद्धको असर रुसमा पनि गहिरो देखिएको छ ।

युक्रेनको युद्धको विरोधमा एउटा रुसी समूह खुलेरै सडकमा उत्रिएको छ भने अधिकांश मानिस मंहगी र अभावसँग जुधेका छन् । युक्रेनमा रुसी हमलापछि पश्चिमा देशहरुले मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् ।

रुस निर्यात हुने सामाग्रीहरुमा प्रतिबन्ध लाग्दा त्यसको मारमा सबैभन्दा बढी रुसी सर्वसाधारण परेका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई निशस्त्रीकरण गरेको भन्दै रुसी कदमको बचाउ गरे पनि पश्चिमा देशहरुले पुटिनले युद्धका बहाना गरेकोे बताउँदै आएका छन् ।

दुई देशबीच वार्ता जारी छ तर हालसम्म कुनै नतिजा आएको छैन । रुसले राजधानी किभलाई आफ्नो नियन्त्रणमा लिने प्रयास जारी राखेको छ ।

हालसम्म के-के भए ?

–अमेरिकी रक्षा अधिकारीले युक्रेनमा रुसी सेनाको आक्रमण हाल रोकिएको बताएका छन् ।

–युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार रुस र युक्रेनबीच मंगलबार पनि वार्ता जारी रहनेछ।

–अमेरिकाले युक्रेन–रुस युद्धमा चीनले रुसलाई सहयोग गरे त्यसको परिणाम भोग्नुपर्ने बताएको छ ।

–बेलायतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्बद्ध थप १०० जनामाथि प्रतिबन्ध लगाउने भएको छ ।

–युक्रेनमा रुसी आक्रमण सुरु भएको करिब तीन हप्तापछि देशभर विनाशका तस्विरहरू देख्न सकिन्छ। २४ फेब्रुअरीमा रुसी आक्रमण सुरु भएयता २५ लाखभन्दा बढी शरणार्थी युक्रेनबाट भागेका राष्ट्रसंघको अनुमान छ।

–पोल्याण्डको बोर्डर गार्ड एजेन्सीले सोमबार भने कि युद्ध सुरु भएदेखि २५ लाख मानिसहरू युक्रेनबाट पोल्याण्डमा भागेका छन्।

–युक्रेनको मारियुपोल सहरका अधिकारीहरूले सहरमा फसेका मानिसहरू बोकेका गाडीहरूको काफिले बाहिर निस्कन सफल भएको बताएका छन्। अधिकारीहरुका अनुसार उक्त काफिलेमा १ सय ६० भन्दा बढी सर्वसाधारण सवारी साधन रहेका छन् ।

–रुसले युक्रेनमा भएको आक्रमणका बेला चीनसँग कुनै पनि सैन्य सहयोग नगएको बताएको छ । कतिपय सञ्चारमाध्यममा रुसले चीनसँग सैन्य र आर्थिक सहयोग चाहेको बताइएको छ ।

–युक्रेन र रुसबीचको वार्तापछि युक्रेनका केही अधिकारीहरूले वार्ता कुन दिशामा गइरहेको संकेत गरेका छन् । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कार्यालयका उपप्रमुख इहोर झोवाक्भाले वार्ताका क्रममा रुसको अडान पहिलेभन्दा अहिले सकारात्मक रहेको बताए ।

–अस्ट्रेलियाले ३३ रुसी अर्बपति व्यापारी र उनीहरुका परिवारमाथि नयाँ प्रतिबन्ध लगाएको छ । यसमा प्रसिद्ध व्यापारी रोमन अब्रामोविच समावेश छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement