रसियाले तयार पारेको भ्याक्सिन नेपाललाई दिन सकिन्छः राजदूत नोभिकभ


काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा मंगलबार भएको भेटमा दुई देशको कूटनीतिक सम्बन्ध, संसदीय सम्बन्ध, कोरोना प्रभाव, पूर्वाधार विकास, व्यापार र लगानीको साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका रुसी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे । उनले कोरोना भाइरसले गर्दा विश्व आक्रान्त बनेका बताउँदै भने, ‘विश्वका विभिन्न मुलुकहरू कोरोना भाइरसको भ्याक्सिनको खोजिमा लागिरहेका छन् । हालै रुसमा यसको सफल परीक्षण भएको समाचार सुन्न पाउँदा खुसी लागेको छ ।’

सो अवसरमा उनले रुसद्वारा सफल परीक्षण भएको भ्याक्सिनले छिट्टै विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउने विश्वास व्यक्त गरे ।

त्यसैगरी अध्यक्ष तिमिल्सिनाले रुसमा रहेका नेपाली समुदायको यस कठिन परिस्थितमा पनि ख्याल राखेकोमा रसियन सरकारलाई धन्यवाद व्यक्त गरे ।

उनले रसियाले चिकित्सा, इन्जिनियरिङ, औद्योगिक जस्ता क्षेत्रहरूमा सीपयुक्त जनशक्ति विकासमा पुर्याउँदै आएको सहयोग तथा यी क्षेत्रहरूमा दिँदै आएको छात्रवृत्तिले नेपाली विद्यार्थीहरू लाभान्वित भएको बताए ।

नेपाल र रसियाको संसदीय प्रतिनिधि मण्डलबीच समय–समयमा हुँदै आएका भ्रमणको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले दुई देशका संसदीय मैत्री समूहद्वारा दुई देशको संसद र जनता बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

उनले दुई मुलुकको हित प्रबर्द्धन हुने गरी द्विपक्षीय र बहुपक्षीय तहमा साझेदारी आवश्यक रहेको बताउँदै नेपालमा विशेषगरी उर्जा, कृषि, पर्यटन र पूर्वाधार विकासका क्षेत्रमा व्यापार र लगानीको पर्याप्त सम्भावना रहेको बताए ।

भेटका क्रममा राजदूत नोभिकभले नेपाल र रसियाबीच कूटनीतिक सम्बन्ध स्थापनादेखि सुमधुर सम्बन्ध रहेको बताउँदै नेपालको विकासका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न तयार रहेको बताए ।

उनले रसियाले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अडर आउन थालिसकेको जानकारी गराउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने बताए ।

‘रसियाले तयार पारेको भ्याक्सिन नोभेम्वरमा विश्वबजारमा आउनेछ । नेपाललाई प्रथामिकतामा राखेर उपलब्ध गराउन सकिन्छ,’ राजदूत नोभिकभले भने ।

उनले नेपालको पर्यटन प्रबर्द्धन तथा रसियन पर्यटकको संख्या बृद्धि गर्न काठमाण्डु–मस्को नियमित हवाई उडान सुरु गर्न सकिने धारणा राखे ।

‘दुई देशको इच्छाशक्ति भयो भने साझेदारीका थुप्रै क्षेत्र छन्,’ उनले भने, ‘नेपाल सरकारले काठमाण्डुमा मेट्रो रेल बिस्तारको योजना ल्याएको छ, यसमा रसिया सरकार आर्थिक तथा प्राविधिक सहयोग गर्न तयार छ ।’

राजदूत नोभिकभले रसियाको रक्षा तथा परराष्ट्रमन्त्री र संसदीय नेतृत्वको नेपाल भ्रमणका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement