रुस-युक्रेन युद्धमा नेपालका अधिकांश नेताको आश्चर्यजनक मौनता


काठमाण्डु- रुसले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्दै सार्वभौम राष्ट्र युक्रेनमाथि सैन्य आक्रमण गरेको चौबिस घण्टा बितेको छ । चौबिस घण्टामा बिभिन्न देशका नेताहरुले संयमताका साथ रुस–युक्रेन युद्धप्रति आफ्ना धारणा राखेका छन् । विश्वका अधिकांश नेताहरुको रुस–युक्रेन युद्धमा युक्रेनको पक्षमा खुलेर धारणा राखेका छन् । तर नेपालका राजनीतिक दलका अधिकांश नेताहरु भने यस मुद्दामा मौन बसेका छन् । थोरै नेपाली नेताले मात्र रुस–युक्रेन युद्धका विषयमा मुख खेलेका छन् ।

जनता समाजवादी पार्टी (जसपा), नेपालको संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रुसी आक्रमणको निन्दा गरेका छन् । उनले युक्रेनमाथिको आक्रमण स्वीकार्य हुन नसक्ने समेत बताएका छन् । ‘अहिलेको युगमा कुनै पनि स्वतन्त्र देशमाथि बाह्य आक्रमण स्वीकार्य हुनसक्दैन । युक्रेनमाथिको रुसी आक्रमण निन्दनीय छ,’ डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘साना÷निर्धा देशले ठूला÷बलिया देशको हैकमबाट बच्न अन्तर्राष्ट्रिय शत्तिसन्तुलनलाई बेलैमा बुझ्न र व्यवस्थापन गर्न सिपालु हुनैपर्छ भन्ने पनि युक्रेनको घटनाले बुझाएको छ ।’

नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलेले युक्रेनमाथि आक्रमण भएको सुन्दा दुःख लागेको जनाएका छन् । उनले युक्रेनमाथिको आक्रमणलाई रुसी हस्तक्षेप बताएका छन् । ‘रुसी हस्तक्षेपका कारण युक्रेनमा विस्फोट, विनास र पलायनका कुरा मिडियामा मार्फत सुन्दा दुःख लागेको छ,’ एमाले उपमहासचिव ज्ञवालीले ट्वीटरमा लेखेका छन्, ‘प्रत्येक राष्ट्रलाई आफ्नो भौगोलिक अखण्डताको रक्षा गर्ने अधिकार छ । राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गर्नुपर्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका अध्यक्ष कमल थापाले युक्रेनमाथि रुसले गरेको आक्रमण स्वीकार्य नहुने प्रतिक्रिया दिएका छन् । ‘पहिले विखण्नकारी उचाल्ने, पछि तिनलाई संरक्षणको वहानामा आक्रमण गर्ने काम स्वीकार्य हुनसक्दैन,’ अध्यक्ष थापाले ट्वीटरमा लेखेका छन् ।

उनले सानो छिमेकी देश युक्रेनमा पृथकतावादीलाई संरक्षण गर्ने नाममा विश्व महाशक्ति रुसले गरेको आक्रमणवारे असंलग्नता, पंचशील र संयुक्त राष्ट्रसंघको बडापत्रमा विश्वास गर्ने नेपालले विरोध गर्नुपर्ने जनाएका छन् । नेपाल सरकारले पनि बिहीबार एक विज्ञप्ति जारी गरी रुसी आक्रमणको विरोध गरेको थियो । नेपालले सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गर्दै राष्ट्रसंघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरूको पालना गर्न रुसलाई भनेको थियो ।

‘नेपाल कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र कूटनीति तथा संवादबाट विवादको शान्तिपूर्ण समाधान खोज्नेमा विश्वास गर्दछ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि विश्व घटनाहरुमा राजनीतिक दल र नेताहरुले बोलेपछि मात्र नेपाल सरकारले विज्ञप्ति जारी गथ्र्यो । यसपटक भने दल र नेताहरुले आफ्नो धारणा राख्न नपाउँदै सरकारले विज्ञप्ति मार्फत आफ्नो ‘स्ट्याण्ड’ देखाएको छ ।

रुस–युक्रेन युद्धको मामिलामा नेपालका दल र नेताहरुले अहिले आश्चर्यजनक मौनता साधेका छन् । तीन वर्षअघि भेनेजुएलाको विषयमा अमेरिका विरुद्ध विज्ञप्ति जारी गरेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि अहिले मौन छन् । भेनेजुएलाको निर्वाचित राष्ट्रपतिविरुद्ध विपक्षी दलका नेताले आफैले आफैलाई राष्ट्रपति घोषणा गर्दा अमेरिकाले त्यसको समर्थन गरेको थियो । त्यसपछि प्रचण्डले २०७५ माघ ११ गते भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै कडा विज्ञप्ति जारी गरेका थिए । त्यतिबेला उनी तत्कालिन नेकपाको अध्यक्ष थिए । अहिले रुसले सानो र कमजोर सार्वभौम राष्ट्र युक्रेनमाथि आक्रमण गर्दा भने उनी मौन बसेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement