भारत र नेपालबीच मिलेर अघि बढ्ने निर्णय गरेका छौंः विदेशमन्त्री एस जयशंकर


काठमाण्डु – भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल र भारतबीच कुनै समस्या नरहेको प्रष्ट पारेका छन् ।

भारतीय पत्रिका द हिन्दुलाई अन्तार्वार्ता दिँदै विदेशमन्त्री जयशंकरले दुई देशबीच समस्या नभएको र यदी भए पनि  वार्ता र संवादका माध्यमबाट समाधान गर्न आफुहरु तयार रहेको बताएका छन् ।

उनले केही समय अगाडि भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल, भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे र विदेश सचिव हर्षवद्र्धन श्रृंगलाको नेपाल भ्रमणलाई इंगित गर्दै अहिले दुई देशबीचको सम्बन्धमा परिवर्तन आएको बताएका हुन् ।

उनले भनेका छन्, ‘विगतमा हामीबीच केहि मुद्दाहरु थिए, तर पछिल्ला केही साता भारत र नेपालबीच मिलेर अघि बढ्ने निर्णय गरेका छौं र यो पारस्परिकरुपमा भएको हो । दुई मुलुकबीच कुनै समस्या छैन ।’

उनले भारतसँगका अधिकांश छिमेकी मुलुकहरु प्रजातान्त्रिक रहेको र केही समस्या भए ती वार्ताका माध्यमबाट समाधान निकाल्न सकिने बताएका छन् ।

‘मैले भनिहाले, कुनै घटनालाई न्यायको अन्तिम गजको रूपमा नलिनुहोस् । समस्याहरू छन् । एकअर्काबीच समस्या नै नभएका दुई छिमेकी मुलुक कहाँ छन् र ? आज हाम्रा अधिकांश छिमेकी देश लोकतान्त्रिक छन् । यसको अर्थ, उनीहरुको आफ्नो राजनीति छ र हाम्रो पनि आफ्नो राजनीति छ । यसमा मुद्दाहरु आउँछन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement