सात बुँदे घोषणापत्र जारी गर्दै सकियो एसियन तथा प्रशान्त क्षेत्रीय ऊर्जा मञ्चको बैठक


काठमाडौं- बुधबारदेखि थाइल्याण्डको बैंककमा चलिरहेको एसियन तथा प्रशान्त क्षेत्रीय ऊर्जा मञ्चको दोस्रो बैठकले सात बुँदे घोषणापत्र जारी गरेको छ ।

नेपालबाट उर्जामन्त्री वर्षामान पुन सहित विभिन्न देशका मन्त्री, सरकारी निकायका प्रतिनिधि तथा सरोकारवाला सम्मिलित मञ्चको बैठकले दिगो विकासका लक्ष्य पूरा गर्ने विषयलाई मुख्य प्राथमिकता राख्दै बिहिबार सकिएको छ ।

बैंककस्थित नेपाली दूतावासले एक प्रेस विज्ञप्ती जारी गर्दै बैठकले जारी गरेको घोषणापत्रमा दिगो विकासका लक्ष्य पूरा गर्ने, ऊर्जा संक्रमण अन्त्य गर्न उच्च प्राथमिकता दिने, ऊर्जा आपूर्ति वृद्धि तथा क्षेत्रीय पहुँच विस्तारमा प्रोत्साहन गर्ने लगायतका ७ वटा बुँदा समावेश भएको जनाएको छ ।

उर्जामन्त्री पुनले बैंकक, म्यानमार र पाकिस्ताका ऊर्जा तथा जलस्रोत मन्त्रीसँग क्षेत्रीय ऊर्जा विकासबारे छुट्टाछुट्टै छलफल गर्नुभएको थियो ।

दोस्रो एसिया तथा प्रशान्त क्षेत्रीय ऊर्जा मञ्चलाई सम्बोधन गर्दै मन्त्री पुनले नेपालमा स्थायित्व र विकासको युग सुरु भएको भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पुनले चीन र बंगलादेशसंग द्विपक्षीय विद्युत व्यापार तथा समन्वय प्रक्रिया सुरु भएको जानकारी दिनुभएको थियो । मन्त्री पुनले उर्जा तथा विद्युतको क्षेत्रमा चीनसहित सार्क र विमस्टेक स्तरमा क्षेत्रीय सहकार्य हुनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement