पूर्वआईजीपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश, संघीय निर्वाचन लड्ने तयारी 


काठमाण्डु- नेपाल प्रहरीका पूर्वआईजिपी सर्वेन्द्र खनाल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा प्रवेश गरेका छन् । बिहीबार नेकपा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पूर्वआईजिपी खनाल एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्दै उनले ओलीको शीतल छहारी पाउने विश्वासमा पार्टी प्रवेश गरेको बताए । आफू प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेर आईजीपीबाट अवकाश पाएको बताउँदै ओली गृहमन्त्री हुँदा आफू इन्स्पेक्टर रहेको उनको भनाइ छ ।

आफूमाथि तत्कालीन प्रहरी प्रमुखले गरेको अन्यायबारे बल्खुस्थित एमाले पार्टी कार्यालयमा पुगेर जानकारी गराउँदादेखि नै ओली सत्यको पक्षमा उभिने नेताको रूपमा आफूले बुझेको पूर्वमहानिरीक्षक खनालले बताए ।

विभिन्न समूह तथा पार्टीका नाममा भएका आपराधिक गतिविधि नियन्त्रणमा पनि आफू प्रधानमन्त्री हुँदा ओलीले काम गरेको बताउँदै उनले सिके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको बताए । साथै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई पनि शान्न्तिपूर्ण राजनीतिमा ल्याएका ओली जस्ता नेता हामीले अर्को पाउन नसकेको उनले बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई स्वागत गरेका थिए । नेकपा एमालेबाट संघीय निर्वाचन लड्न टिकट नै लिनेगरी खनालले एमाले प्रवेश गरेको जनाइएको छ ।

खनाल काठमाण्डु वा तनहुँबाट चुनाव लड्ने छन् । आज नेकपा एमाले प्रदेश गर्नेमा खनालसँगै विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया, राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, जसपाका नेता होरिलाल चौधरी रहेका छन् ।

पछिल्लो समय अध्यक्ष ओलीले एमाले प्रवेश गर्ने प्रभावशाली नेताहरुलाई संघीय चुनावमा टिकट दिने आश्वासन दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement