सगरमाथाको उचाइ नाप्न गएका टोलीलाई काठमाडौंमा भव्य स्वागत


काठमाडौं – सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोली बिहीबार काठमाडौं आइपेगेको छ ।

सगरमाथाको आरोहण गरेर फर्किएको सरकारी टोलीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार स्वागत तथा बधाई ज्ञापन गरेकी छन् ।

मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री अर्याल, मन्त्रालयका सचिव गोपिनाथ मैनाली, नापी विभागका महानिर्देशक प्रकाश जोशी लगायतले सगरमाथाको उचाइ मापनका निम्ती सगरमाथाको आरोहण गरेर फर्किएको प्रमुख नापी अधिकृत उपसचिव खिमलाल गौतम नेतृत्वको टोलीलाई फूलमाला र टिकाले स्वागत गरेका हुन् ।

त्यस अवसरमा सगरमाथाको सफल आरोहणको उपलक्ष्यमा मन्त्री अर्यालले टोलीका सबै सदस्यहरूलाई मिठाइ खुवाएर खुशी बाँडेका थिइन् । त्यस अवसरमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारले पहिलोपटक आफ्नै साधान स्रोतमा सगरमाथाको उचाइ मापन गर्ने कार्य गरेको भन्दै यो सबैका लागि गौरवको कुरा भएको बताइन् ।

‘अहिलेसम्म सगरमाथाको उचाइ आफ्नै पहल तथा लगानीमा नेपाल सरकारले गरेको थिएन । विभिन्न देशहरूले विभिन्न समयमा गरेका थिए’, मन्त्री अर्यालले भनिन्, ‘यसपाली सरकारले आफ्नै स्रोतसाधनमा आफ्नै लगानीमा गरेको छ । यो हामी सबैका निम्ति गौरवको कुरा हो ।’ मन्त्री अर्यालले आरोहणको महत्वपूर्ण काम सम्पन्न गरेपनि ६ महिनाभित्र नेपाल आफैंले मापन गरेको सगरमाथाको वास्तविक उचाइ प्राप्त हुने बताइन् ।

नेपाल सरकारका तर्फबाट आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नाप्न गएको नापी विभागको टोली जेष्ठ ८ गते बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुग्न सफल भएको थियो ।

गएको चैत २७ गते सगरमाथाको उचाइ नाप्नका निम्ती नापी विभागका प्रमुख नापी अधिकृत उपसचिव खिमलाल गौतम नेतृत्वको टोली सगरमाथातर्फ प्रस्थान गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री अर्यालको शुभकामना लिएर गएको टोलीलाई वैशाख २८ गते भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले सगरमाथाको आधार शिविर (बेसक्याम्प) मै पुगेर थप हौसला प्रदान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement