काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथामा बैशाख १ गतेदेखि सुरु गरिएको सफाइ अभियान हाल सगरमाथाको बेस क्याम्पमा पुगेको छ । नेपाल सरकार, खुम्बु पासाङ गाउँपालिका, नेपाली सेना, नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले गत बैशाख १ गतेबाट सगरमाथा सफाई अभियान सुरु गरेको हो ।
सफाइकोको क्रममा सगरमाथा बेसक्याम्पमा ४ वटा शव भेटिएको छ । सगरमाथा सफाइ अभियान अन्तरगत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाइ गर्दा हालसम्म ४ वटा शव भेटिएको जानकारी गराएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।
अभियान अन्तरगत हालसम्म ३ हजार किलोग्राम फोहोर संकलन गरिएको र त्यसमध्ये करिव १ हजार किलोग्राम फोहोर हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको पनि आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । अभियानले ४५ दिनभित्र सगरमाथाको फोहोर संकलन गरी सक्ने लक्ष्यका साथ कामलाई अघि बढाएको छ । सफाइ अभियानमा १२ जना परिचालन गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार कार्यक्रम सम्पन्न गर्नका लागि करिव २ करोड ३२ लाख १६ हजार लाग्ने अनुमान गरिएको छ ।
अर्काे बर्ष सगरमाथा क्षेत्रमा नै रहेका अन्य हिमालहरुको सफाईका लागि उपयोग गर्ने तयारी गरिएको नेपाल पर्वतारोहण संघका सचिव टिकाराम गुरुङले जनाकारी दिए। उद्धारमा नेपाली सेना, तालिम प्राप्त रेस्क्यू टोली र सेनाको हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको जनाएको छ। यही वैशाख १ गतेदेखि सुरु भएको सरसफाइ कार्यक्रम जेठ १५ गतेसम्म जारी रहनेछ।
प्रतिक्रिया